नेपालगञ्ज, पुस ३ गते । भेरी अस्पताल नेपालगञ्जमा अब नवजात शिशुको सिकलसेल एनिमिया परीक्षण निःशुल्क उपलब्ध हुने भएको छ। यसअघि एक वर्ष उमेरका बालबालिकामा मात्र परीक्षण गर्न सकिने उपकरण अस्पतालमा थियो, तर हालै नयाँ र अत्याधुनिक उपकरण ल्याइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीका अनुसार अब बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरेर रिपोर्ट प्राप्त गर्न सकिनेछ।
यो उपकरण प्रदेश सरकारद्वारा विसं २०७९ मा खरिद गरिएको हो र बुटवलबाट ल्याएर भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको छ। यस उपकरणको प्रयोगबाट पछिल्ला दुई दिनमा चार जना नवजात शिशुको परीक्षण गरिएको डा। सुवेदीले बताए। यो उपकरण नेपालमा पहिलोपटक भेरी अस्पतालमा प्रयोगमा ल्याइएको बताइएको छ।
त्यस्तै, भेरी अस्पतालमा १६ शय्याको सिकलसेल वार्ड पनि सञ्चालनमा ल्याइएको छ र रगत परीक्षणको लागि डेकेयर सेन्टर पनि उपलब्ध छ।
भेरी अस्पतालका सिकलसेलसम्बन्धी जानकार डा राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिनुभयो ।
सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले भने, “बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न-गराउन सकिन्छ ।” डा पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने जानकारी दिएका छन् ।
बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए-नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । डा पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकोमा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिएका छन्।







