फाइल तस्वीर
काठमाडौँ, भदौ २६ गते । देशकै सबैभन्दा पूरानो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय आगामी कार्तिक १० गतेसम्म सबै पठनपाठन बन्द गरेको छ । देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रम र विकसित विषम परिस्थितिलाई मध्यनजर गर्दै त्रिविविले आगामी कार्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गरेको हो ।
विश्वविद्यालयले कार्तिक ११ गतेदेखि मात्रै अध्यापनलाई निरन्तरता दिने बताएको छ । त्रिविविको सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेको छ । त्रिविविले ‘नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ’ भनेको छ ।
जेनजीले २२ गते काठमाको माइतघर मण्डलामा गरेको सरकारविरुद्धको प्रर्दशन नयाँबानेश्वर पुगेपछि हिंसात्मक रुप लिन पुगेको थियो । जेनजीको दुई दिनको आन्दोलनबाट देशभर हिंसा, आगजनी र तोडफोडको घटनाले मुलुक आक्रान्त बनेको र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन सबै कुरा ठप्प प्रायः भएका छन् । यसै परिस्थितिलाई हेरेर त्रिविविले झण्डै डेढ महिना पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ ।








