धनुषा, कात्तिक २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले आज शनिबार पदबाट राजीनामा दिनुभएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा मधेश प्रदेश काङ्ग्रेस संसदीय दलको नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो । यी दुवै ठूला दलले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवको नेतृत्वको सरकार अल्पमतमा परेको र उहाँले विश्वासको मत पाउने अवस्था कमजोर बनेको थियो ।

मुख्यमन्त्री यादवले प्रदेशसभाको बैठकलाई सम्बो्धन गर्दै अङ्कगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

मुख्यमन्त्री यादवको राजीनामापछि मधेश प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुङ्गो लागेको छैन । यद्यपि, एमाले र नेकपाको समर्थनमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना छ । 

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली काङ्ग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।