धनुषा, कात्तिक २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजप्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज शनिबारका लागि आह्वान गर्नुभएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादावले विश्वासको मत लिन लाग्नुभएको हो ।
सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न शनिबार बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ ।
नेपाली काङ्ग्रेसको मधेश प्रदेशसभाको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बन्न समर्थन गरेका दुई ठूला कम्युनिस्ट दल नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले समर्थनमा फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री यादव यतिबेला अल्पमतमा पर्नुभएको छ ।
नेपाली काङ्ग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले यही कात्तिक २० गते पदबाट राजीनामा दिँदै समर्थन फिर्ता लिएको थियो ।
दुई ठूला सहयोगी दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री यादवले सरकारको निरन्तरताका लागि विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहनुभएको छ । त्यसका लागि केही समय अघि मुख्यमन्त्री यादव एमाले र नेकपाका नेताहरुलाई भेटेर मुख्यमन्त्रीमा आफ्नो निरन्तरतालाई बनाउने प्रयास गर्दै हुनुहुन्थ्यो । मुख्यमन्त्री यादवको नेतृत्वमा मधेश प्रदेश सरकारलाई निरन्तरता दिन काङ्ग्रेस सभापति गगनकुमार थापाले समेत पहल गर्नुभएको थियो । यद्यपि, केही महिना पहिले एमाले र नेकपाका शीर्ष नेताहरुबीच प्रदेश सरकार मिलेर चलाउन सहमति भएको थियो ।
कुल एक सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले र नेकपाको गरी दुवै दलको सांसद सङ्ख्या ३८ रहेको छ । प्रदेशसभामा नेपाली काङ्ग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् भने सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सांसद रहेका छन् ।
प्रदेशसभाको अङ्क गणितअनुसार काङ्ग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ । तर मुख्यमन्त्री यादवलाई हटाएर जनता समाजवादी पार्टी नेपालले नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाले सहयोग गर्ने हुँदा आज मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना न्यून देखिन्छ । जसपा नेपाल, एमाले र नेकपाका कुल सांसद सङ्ख्या ६५ पुग्ने हुँदा अब मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वमा एमाले र नेकपाको मिलिजुली सरकार बन्ने छ ।
आज मधेश प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री यादवले बैठकमा विश्वास मत माग्ने मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखिएमा विश्वासको मत लिनु अघि नै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिन सक्ने आङ्लन गरिएको छ ।




