जेरुसेलम, कात्तिक १८ गते । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोपलाई इजरायलको केन्द्रीय निर्वाचन समितिले अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको भन्दै सो आरोप अस्वीकार गरेको हो ।
समितिका अनुसार घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको छ । यसैबीच, राष्ट्रपति आइज्याक हर्जोगले बुधबार निर्वाचनको आधिकारिक परिणाम प्राप्त गरेपछि नेतान्याहु वा विपक्षी नेता गादी आइसेनकोटमध्ये कसलाई सरकार गठनको पहिलो अवसर दिने भन्ने निर्णय गर्नुहुनेछ ।
नेतान्याहुले निर्वाचनका दिन अरब दलहरूले नगद बाँडेको र कतारबाट रकम प्राप्त गरेको आरोप लगाउनुभएको थियो । तर महान्यायाधिवक्ता गली बहराव–मियाराले प्रमाणबिना कसैलाई सोधपुछ गर्न नमिल्ने बताउनुभएको छ । नेतान्याहुको लिकुड पार्टीले भने उहाँमाथि अनुसन्धानमा अवरोध पुर्याएको आरोप लगाएको छ ।
विपक्षी नेता आइसेनकोटले मध्यमार्गी तथा मध्यदक्षिणपन्थी दलहरूलाई एकजुट गर्दै नेतान्याहुको लामो शासन अन्त्य गर्ने प्रयास गरिरहनुभएको छ । उहाँले इरानविरुद्ध अर्को युद्ध सुरु नगर्न नेतान्याहुलाई चेतावनी दिँदै इजरायलमा एकता सरकार गठन हुनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री यायर ल्यापिडले पनि अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयपछि नेतान्याहुको नेतृत्वमा एकता सरकार बन्ने सम्भावना कमजोर भएको बताउनुभएको छ ।
इजरायलको १२० सदस्यीय संसदमा बहुमतका लागि ६१ सिट आवश्यक छ । निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोटको पक्षले ४८ सिट जितेका छन् । अरब अल्पसङ्ख्यक दलका १९ सिटको समर्थन प्राप्त भए विपक्षी पक्ष बहुमतको नजिक पुग्न सक्छ । तर विपक्षी गठबन्धनका केही दलले गैरयहुदी सांसदको समर्थनमा सरकार गठन गर्न अस्वीकार गर्दै आएका छन् ।
राष्ट्रपति हर्जोगले निर्वाचन परिणाम प्राप्त गरेपछि दुई दिनसम्म राजनीतिक दलहरूसँग परामर्श गर्नुहुनेछ । सरकार गठनको जिम्मेवारी पाउने नेताले २८ दिनभित्र बहुमत जुटाउनुपर्नेछ । आवश्यक परे थप १४ दिन समय दिइनेछ । पहिलो प्रयास असफल भए अर्को नेतालाई अवसर दिइनेछ । त्यो पनि सफल नभए संसदका बहुमत सदस्यले २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न नसके देश नयाँ निर्वाचनमा जानुपर्नेछ ।
यसअघि सन् २०१९ देखि २०२२ बीच इजरायलमा राजनीतिक गतिरोधका कारण पाँच पटक निर्वाचन भएको थियो । सन् २०२२ को निर्वाचनपछि नेतान्याहुलाई सरकार गठन गर्न ५८ दिन लागेको थियो । उहाँले सत्ता गुमाउनुभए भ्रष्टाचारसम्बन्धी आरोप र जेल सजायको जोखिमसमेत सामना गर्नुपर्नेछ ।
यसैबीच, आगामी संसद्मा सबैभन्दा ठूलो अरब बहुल पार्टीका नेता युसेफ जाब्रिनले विपक्षी दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन संयुक्त प्रयास गर्न आग्रह गर्नुभएको छ । नेतान्याहुले अरब दलहरू हमासका समर्थक रहेको आरोप लगाउँदै आए पनि अरब–इजरायली पार्टीका नेताहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको निन्दा गरेका छन् ।




