तनहुँ, कात्तिक ९ गते । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले जनताले अझै पनि काङ्ग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गर्नु्भयो ।

राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

काङ्ग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउँदै उहाँले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा काङ्ग्रेस रहेको जिकिर गर्नुभयो । जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताउनुभयो । जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्र्ने धारणा व्यक्त गर्नुभयो ।