तनहुँ, कात्तिक ८ गते । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
बालबालिकालाई खेलाउने, प्रकृतिसँग रमाउने र परिवारका सदस्यसँग अविस्मरणीय समय बिताउने चाहना राख्नेहरूका लागि झाङ्गाझोली उपयुक्त विकल्प बन्न सक्छ । पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ साढे किलोमिटर अगाडि पुगेपछि यहाँ पुग्न सकिन्छ । कालोपत्रे सडक र पार्किङ सुविधाका कारण निजी सवारीसाधनमा परिवारसहित यात्रा गर्न सहज छ ।
घुमफिरसँगै ज्ञान र मनोरञ्जन
झाङ्गाझोलीको मुख्य आकर्षणमध्ये ‘गौरादेवी प्राकृतिक जडीबुटी उद्यान’ एक हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएका छन् । रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम, टिमुर, कुरिलोलगायत वनस्पतिको अवलोकन गर्न सकिन्छ ।
बिरुवाको नाम र विवरणसहितका नेमप्लेट राखिएकाले बालबालिकाले घुम्दै नयाँ कुरा सिक्न सक्छन् । जनावरका आकर्षक मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र हरियालीले यहाँको आकर्षण थपेका छन् । खोलाको आसपासको शान्त वातावरणमा परिवारसँग बसेर समय बिताउन र तस्बिर खिच्न पनि सकिन्छ ।
स्थानीय परिकारदेखि पारिवारिक जमघटसम्म
घुमफिरसँगै स्वादिलो खानाको आनन्द लिन चाहनेहरूका लागि यहाँ लोकल कुखुरा र कालिजका परिकार उपलब्ध छन् । परिवार तथा आफन्तसँग बसेर खानपिन गर्ने, कुराकानी गर्ने र खुसी साट्ने वातावरणले यहाँको बसाइलाई थप रमाइलो बनाउन सक्ने सञ्चालक उज्वल पौडेलले बताउनुभयो ।
जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य पारिवारिक कार्यक्रमका लागि क्याम्प फायर र कार्यक्रम हलको सुविधा पनि उपलब्ध छ । एकै दिन घुमेर फर्किन वा रात बिताउन चाहनेका लागि वातानुकुलित कोठासमेत छन् । कोठाको शुल्क प्रतिरात दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म रहेको छ ।
‘परिवारसँग रमाउन झाङ्गाझोली उपयुक्त गन्तव्य’
झाङ्गाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक पौडेलका अनुसार परिवारसहित घुम्न आउनेहरूका लागि झाङ्गाझोलीमा मनोरञ्जन, प्राकृतिक वातावरण र खानपिनको सुविधा एकै ठाउँमा उपलब्ध छ ।
उहाँ भन्नुहुन्छ, “परिवारका सबै सदस्यसँग समय बिताउने, बालबालिकालाई रमाइलो गराउने र प्रकृतिको आनन्द लिने चाहना सबैको हुन्छ । झाङ्गाझोलीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आ–आफ्नै तरिकाले रमाउन सक्ने वातावरण छ । टाढा जान नभ्याउनेहरूका लागि पनि परिवारसँग एक दिन बिताउन वा रात बसेर रमाइलो गर्न यो राम्रो गन्तव्य बन्न सक्छ ।”
उद्यानका सञ्चालक बासुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन् । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको जडीबुटी उद्यान तथा अन्य भौतिक संरचनाले क्षेत्रको आकर्षण बढाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३, झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षणसँगै शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । रासस




