बाँके, कात्तिक ५ गते । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानको गोठमा पुगेर पशु स्वास्थ्य प्राविधिकले खोप लगाइरहेका छन् ।
लुम्बिनी प्रदेश सरकारको कार्यक्रमलाई सो केन्द्रले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरेको हो । जिल्लाको खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गर्न भने हालसम्म चासो नदेखाएको केन्द्रका सूचना अधिकारी रावलले जानकारी दिनुभयो ।
लम्पी स्कीन रोग पक्सभाइररिडी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातीको लम्पी स्कीन डिजिज भाइरसका कारण अत्याधिक सङ्ख््यामा गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमा बिहीन पशुरोग भएकोले रोकथामको लागि खोप अभियान प्रभावकारी हुने जनाइएको छ ।




