गोरखा, असोज २५ गते । गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचबाटो मै रोकिएका छन् । बुढीगण्डकी नदीमा आज बिहान आएको भीषण बाढीले पदमार्गमा क्षति पुर्याएपछि पर्यटकहरु गन्तव्यमा पुग्न नसकी बीच बाटोमै रोकिएका हुन् ।
मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार गन्तव्यमा नपुगी बिचबाटो मै रोकिएका सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उनीहरुलाई उद्धार गर्न पहल भइरहेको छ ।
संरक्षण अधिकृत ओझाका अनुसार मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । बताउनुभयो । “शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो, रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ”, संरक्षण अधिकृत ओझाले भन्नुभयो, “हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ ।”
बाढीले मनास्लु जाने मुख्य पदमार्गलगायत झोलुङ्गे पुलमा समेत क्षति पुर्याएपछि पर्यटकहरुको आवातजावत रोकिएको छ । चुमनुब्री–६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पखाईमा रहेको र चुम उपत्यका क्षेत्रको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताउनुभयो ।
विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
अध्यक्ष कृष्णप्रसाद आचार्यले “मनास्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको र मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ” भन्नुभयो ।




