काठमाडौँ, असोज २३ गते । काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुनसहित हिजो राती पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ३ बाट हिजो बिहीबार बरामद गरिएको २१ किलो सुन र सो कारोवारमा संलग्न व्यक्तिहरुलाई आज सार्वजनिक गरिएको हो ।

आज शुक्रबार पत्रकार सम्मेलनमार्फत काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले बुढानिलकण्ठ स्थित एक घरभित्रै सुन गाल्ने मेसिनसहित पक्राउ गरिएको बताउनुभयो ।

प्रहरीले जानकारी गराए अनुसार उनीहरूले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ भङ्गालमा मासिक ३ लाख ३० हजारमा घर भाडामा लिएर तस्करीको सुन गाल्ने काम गर्दै आएको खुलेको छ । उक्त स्थानमा सुन कारोवार भैरहेको सूचनाका आधारमा प्रहरीले एक हप्तादेखि निगरानी बढाउँदा हिजो बिहीबार साँझ सुन गाल्ने मेसिनसहित २१ किलो सुन बरामद गरेको थियो ।