महोत्तरी, असोज २० गते । चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।
दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।
“अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको तयारीमा लाग्नपर्छ । त्यसैले ओल खन्न लागेका छौँ”, भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव भन्नुहुन्छ, “अहिले खनेर राखे दशहारा, दीपावली र छठका बेला बजार पुर्याउने काममात्र रहन्छ ।” यादव जस्तै उहाँका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव ओल खन्ने तयारीमा हुनुहुन्छ ।
मधेसमा ओल धनीमानीले खाने तरकारीका रुपमा मानिन्छ । यसको मूल्य अन्य तरकारीको तुलनामा बढी पाइने र उत्पादन पनि राम्रो हुने भएकाले महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानको रोजाइको बाली बनेको छ ।
जिल्लाका भङ्गाहा, बर्दिवास र गौशाला नगरक्षेत्रका बस्तीमा यसको खेती गरिएको छ । बलवा नगरपालिकाको धमौरा, लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले खेती गरेका छन् ।
“व्यापारी घरमा आउने गरेका छन्, नआए पनि बजार पुर्याएपछि बिक्री भइहाल्छ”, बलवा–१० धमौराका नविजान कवारी भन्नुहुन्छ, “राम्रो भाउ पाउनेबेला पारेर बेच्न सकिन्छ ।” एक कठ्ठामा १० क्विन्टलसम्म ओल फल्ने स्थानीय किसानको भनाइ छ ।
मधेसमा ओलको तरकारी, चटनी, अचार र तरुवा प्रसिद्ध परिकार मानिन्छ । पहिले रैथाने ओल हुनेखानेको भान्सामा मात्र पुग्थ्यो । अरु तरकारीभन्दा निकै महगो भएकाले यो धनीले मात्र खान सक्ने मानिन्थ्यो ।
बजार भाउ र उत्पादन राम्रो हुने गरे पनि महोत्तरीमा यो खेती अझै व्यावसायिक बन्न सकेको छैन । यहाँका किसानले मुख्य खेतीका रुपमा ओललाई अझै स्वीकार गर्न नसकेको भङ्गाहाका कृषि शाखा प्रमुख सन्तोष कार्कीको भनाइ छ ।
किसानले यो खेतीका लागि व्यावसायिक चासो देखाए सुलभ मूल्यमा राम्रो बीउ, प्राविधिक रेखदेख र टाढाका बजारसँग आवश्यक समन्वय प्रबन्ध कृषि शाखाले गर्ने उहाँको भनाइ छ । पछिल्ला केही वर्षदेखि ओलखेती क्रमशः बढ्दै गएको र केही किसान प्रत्यक्ष सम्पर्कमा आएका उहाँले बताउनुभयो ।
थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीलेभन्दा बढी वर्षा खेप्नसक्ने भएकाले यसको खेती सहजै गर्न सकिने स्थानीय किसानको भनाइ छ । थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोको भनाइ छ ।
अन्य बालीभन्दा घामपानी खप्नसक्ने र लामो समयसम्म घरमा भण्डारण गर्न सकिने हुनाले ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो रहेको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो बताउनुहुन्छ ।
दुई वर्ष पहिलेसम्म सम्पर्कमै नआउने यहाँका किसान अब भने ओलखेतीबारे सल्लाह लिन थालेकोे कृषि कार्यालयका फलपूmल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।




