दाङ, असोज १९ गते । दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ । रु ४४ करोड ८७ लाख लागतमा १५ दशमलव ५८ किलोमिटर सडक कालोपत्र हुनलागेको हो ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ ।

अब छिट्टै कालोपत्रको काम सुरु हुने निर्माण कम्पनी एमसी–एएनएस बिजी जेभी, काठमाडौँका प्रतिनिधि सिलन बरालले बताउनुभयो । उहाँका अनुसार निर्माणकार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार स्थानीय निर्माण व्यवसायीसँगको समन्वयमा आवश्यक निर्माण उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको हो । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्र हुनेछ । त्यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरण जडान भइसकेका छन् ।

दसैँअघि बेस तथा सवबेसको काम सम्पन्न लक्ष्य राखिएको उहाँले बताउनुभयो । सडक निर्माणमा गुणस्तरलाई समेत ध्यानमा राखिएको प्रतिनिधि बरालले बताउनुभयो । आगामी चैतभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
भोजपुर, असोज १९ गते । भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको देवस्थल क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले संरक्षणका काम अघि बढाइएको हो ।

संरक्षणको अभावमा जीर्ण बन्दै गएको देवस्थल परिसरमा घेराबारा, पूजास्थल निर्माण, मुहान संरक्षण तथा सरसफाइ गरिएको वडा कार्यालयले जनाएको छ । मन्दिर क्षेत्रको धार्मिक महत्वलाई कायम राख्दै पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यका साथ संरक्षणलाई प्राथमिकता दिइएको हो ।

हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले महाङकाली मन्दिर स्थानीयस्तरमा प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको बताउनुभयो । उहाँले मन्दिरको संरक्षणसँगै आवश्यक पूर्वाधार विकासमा वडा कार्यालयले ध्यान दिएको बताउनुभयो । “महाङकाली मन्दिर यहाँको प्रसिद्ध तीर्थस्थल हो । यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै संरक्षण र विकासमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

विशेषगरी किरात समुदायको उधौली र उभौली पर्वका अवसरमा यहाँ विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान हुने गरेको स्थानीयबासी बाचीधन राईले बताउनुभयो । पर्वका समयमा स्थानीयसँगै छिमेकी जिल्लाबाट भक्तजन आउने गरेको उहाँको भनाइ छ ।

मन्दिरको संरक्षणसँगै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न थप पूर्वाधार विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । मन्दिर क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ ।

मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनलाई सहज बनाउने उद्देश्यले रु दुई लाख ५० हजारको लागतमा पूजास्थल निर्माण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो । त्यस्तै, मन्दिर परिसरमा रहेको मुहान संरक्षण गरी स्वच्छ खानेपानीको स्रोतलाई सुरक्षित गरिएको छ । मन्दिर क्षेत्रको वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउन झाडी सफाइ, परिसर व्यवस्थापन तथा पहुँचमार्ग सुधारका काम सम्पन्न भएका छन् ।