कास्की, असोज १३ गते । गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । बागलुङ, म्याग्दीलगायत जिल्लामा हालै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरुप प्रदेश सरकारले उक्त रकम दिने निर्णय गरेको हो ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका पारिवारलाई किरिया खर्चबापत रु २५ हजार पनि दिने भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।

बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उहाँले बताउनुभयो । बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।