कर्णाली, भदौ २४ गते । कर्णाली प्रदेश सरकारको प्रवक्तामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । रुकुमपश्चिमबाट निर्वाचित खड्का यसअघि कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिको सभापति हुनुहुन्थ्यो ।

उक्त बैठकले प्रदेश सचिव रामबहादुर कुरुम्बालाई लोक सेवा आयोग कर्णाली प्रदेशको सचिवमा पदास्थापन गर्ने, दलित समुदाय सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन ऐन, २०८१ को पहिलो संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताउनुभयो ।

त्यसैगरी, प्रदेशसभाका सदस्यहरूलाई स्वकीय सचिव सुविधा दिने र त्यसका लागि प्रदेशसभा सदस्यको स्वकीय सुविधा नियमअनुसार उपलब्ध गराउन सरकारले प्रदेशसभा सचिवालयलाई लिखित पत्र पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार ईलाका प्रहरी कार्यालय राकम दैलेखको अधुरो भवन निर्माण सम्पन्न गर्न कर्णाली प्रदेश सरकार छुट्याएको रु एक करोड छ लाख ५० हजारको अख्तियारी प्रदान गर्न सङ्घीय सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय सो मन्त्रिपरिषद् बैठकले गरेको छ ।