मुस्ताङ, भदौ २४ गते । मुस्ताङस्थित भन्सार कार्यालयले ५६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि व्यापारिक सामानहरु उक्त नाकाबाट नेपाल प्रवेश हुन थालेपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको हो ।

रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेपछि उक्त भन्सार कार्यालयमा यही भदौ १० देखि २३ गतेसम्म ५६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो ।

 भन्सार प्रमुख चुडालका अनुसार दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटाभन्दा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरलानाकाबाट भित्रिएको छ । प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो । चालिस दिनमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो । सो भन्सार कार्यालयले हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन भएको छ । गत आव २०८२÷८३ मा मुस्ताङ भन्सार कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।