काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी निधन भएका ज्ञातरअज्ञात सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरस्थित वाग्मती तटमा वैदिक ब्राह्मणद्वारा विभिन्न ग्रन्थ पाठ पारायण एवं जप गरिएको छ । बाढीमा परी निधन भएकाहरूको सद्गत, प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्यरसाहस प्राप्त होस् भन्ने उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्रीविष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तनलगायत कर्म सामूहिक रूपमा गरिएको अभियानकर्मी सुशान्त आचार्यले राससलाई जानकारी दिनुभयो ।
पशुपतिस्थित श्रीरामचन्द्र मन्दिरमा रहेको भागवत सन्यास आश्रमका उत्तराधिकारी स्वामी डा रुद्रानन्द ब्रह्मचारीको संयोजनमा भएको पाठ पारायणसहित प्रार्थना कार्यक्रममा नेपाल वेद विद्याश्रम र संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका ब्राह्मण वटुकसहित विभिन्न धार्मिक संस्थाका आचार्य एवं सदस्यको पनि सहभागिता थियो ।




