महोत्तरी, भदौ १७ गते । प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) ले पठन संस्कृतिलाई जोड दिँदै पाँच दशकअघिको पुस्तकालय जगाउने अभियान थालेको छ ।
शङ्कर आदर्श पुस्तकालयलाई फेरि पनि पुरानै लयमा फर्काउन अहिले गुरुकुलले विशेष अभियान चलाएको छ । विसं २०३३ मा तत्कालीन विद्यार्थीले स्थापना गरे पनि उचित व्यवस्थापन नपाएर अस्तित्वको सङ्कटमा पुगेको पुस्तकालय अहिले मधेश प्रदेश सरकारको साथ र गुरुकुल प्रशासनको सक्रियताले पुनः सञ्चालन हुने आशा पलाएको छ ।
“यो पुस्तकालय स्थापनाका केही वर्ष नेपाल भारत दुवैतर्फका अध्येताका लागि गन्तव्य थियो, नेपाल भारत सीमाबाट १०० मिटर दूरीभित्र रहेको हुँदा यहाँ अध्ययन/अन्वेषणका लागि भारतीय विज्ञ पनि आउँथे ।
पाँच दशक पहिलेको पुस्तकालय सम्झँदै मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “हेर्दाहेर्दै यो पुस्तकालय मासियो, अहिले फेरि यसलाई जगाउने प्रयत्न थालिएको कुराले खुसी दिएको छ ।”
पुस्तकालयका लागि मधेस प्रदेश सरकारले भवन निर्माण गरेको छ । यसैगरी, गुरुकुलका प्रधानाध्यापक पुस्तक सङ्ग्रह अभियानमा जुट्नुभएपछि अब भने पुस्तकालय व्यवस्थित रूपमा सञ्चालनमा आउने आशा सञ्चार भएको स्थानीयबासी मोहम्मद इसराफिल राइन बताउनुहुन्छ ।
“अग्रजहरूले स्थापना गर्नुभएको पुस्तकालयको नामोनिशान मेटिएको थियो,” इस्लाम धर्मावलम्बी भएर पनि संस्कृत भाषा साहित्य अध्ययन गर्नुभएका राइन भन्नुहुन्छ, “मैले पनि यसै गुरुकुलबाट माध्यमिक शिक्षा पूरा गरे, पुस्तकालयको अवस्थाले मन रुन्थ्यो ।” गुरुकुल परिसरमै मधेस प्रदेश सरकारले पुस्तकालयका लागि भवन निर्माण गरेसँगै विभिन्न व्यक्तित्वबाट पुस्तक र अन्य सहयोग जुट्न थालेको छ ।
संस्कृत भाषा र साहित्यको विकासमा गुरुकुलको लामो इतिहास छ । मुलुककै जेठो मानिने यो विद्यालय विक्रम सम्वत् १७७५ सालमा स्थापना भएको हो ।
यस आधारमा गुरुकुल स्थापना भएको ३०८ वर्ष पूरा भएको छ । केही दशकअघिसम्म ब्राह्मणका लागि मात्र शिक्षा दिने गुरुकुलले अब सबै जातजाति र धर्मावलम्बीलाई पठनपाठनको अवसर प्रदान गरेको छ ।
विद्यार्थीकै प्रयत्नमा स्थापित शङ्कर आदर्श पुस्तकालयलाई व्यवस्थित गर्ने अभियानमा जुटेपछि राम्रो साथ सहयोग पाइएको प्रधानाध्यापक ईश्वरी पौडेलको भनाइ छ । “मधेस सरकारले भवन बनाइदियो, विभिन्न व्यक्तित्वबाट विभिन्न विधाका पुस्तक र अन्य सहयोग जुट्दैछ,” पौडेल भन्नुहुन्छ, “अब चाँडै पुस्तकालय सञ्चालनमा आउँछ ।” पुस्तक र अन्य संसाधन (पुस्तक राख्ने ¥याक र आवश्यक फर्निचर) गुरुकुलका पूर्वविद्यार्थीबाट प्राप्त भइरहेको उहाँले बताउनुभयो ।
“गुरुकुलका पूर्वविद्यार्थी विभिन्न ओहदाबाट अवकाश पाएका र कतिपय कार्यरत हुनुहुन्छ, उहाँहरूबाट उल्लेख्य सहयोग भएको छ,” पौडेल भन्नुहुन्छ, “गत साउनको तेस्रो सातादेखि थालिएको पुस्तक सङ्कलन अभियानमा हालसम्म विभिन्न विधाका चार हजार पुस्तक प्राप्त भएका छन् ।”
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा कुलप्रसाद कोइराला, प्रसिद्ध समालोचक प्राडा कुमार कोइराला, पाठ्यक्रम विकास केन्द्रका पूर्वनिर्देशक शम्भु दाहाल, वरिष्ठ पत्रकार कपिल काफ्ले, नेपाल सरकारका सहसचिव हरिहर दाहाल, वाल्मीकि विद्यापीठ काठमाडाँैका उपप्रशासक शान्तिकृष्ण अधिकारी, पुस्तकालयका संस्थापक भावेन्द्र कोइराला र अस्मिता प्रकाशनलगायतले पुस्तकालयका लागि सहयोग गर्नुभएको पौडेलले स्पष्ट पार्नुभयो । उहाँहरू सबै गुरुकुलका पूर्वविद्यार्थी हुनुहुन्छ । अभियानमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ साहित्यकार लेखक दिनेशहरि अधिकारीबाट पनि उल्लेख्य सहयोग पाएको पौडेलको भनाइ छ ।
सहयोगमा प्राप्त भएका पुस्तक कविता, आख्यान, इतिहास संस्कृति, विज्ञान तथा प्रविधि, समाज तथा राजनीति, दर्शन, अर्थ र सन्दर्भग्रन्थसहितका विधाका छन् ।
पुस्तकालय सञ्चालनले मटिहानी फेरि पठन संस्कृति र संस्कृत भाषा साहित्यको अनुसन्धान केन्द्रका रूपमा विकास हुने आधार बन्दै गएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको कथन छ । “मटिहानीसँग पौराणिक इतिहासको गौरवपूर्ण विगत छ, यो संस्कृत भाषा र साहित्य अध्ययनको थलो रहँदै आएको छ,” मण्डल भन्नुहुन्छ, “हामीले नेपाल सरकार र मधेस सरकारसँग यस ठाउँलाई संस्कृत भाषा साहित्यको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग गर्दै आएका छौँ । पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन हुँदा थप सहज हुन्छ ।” यस कार्यमा नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।
पाँच दशकपहिले स्थापना भएर पनि लथालिङ्गजस्तै बनेको पुस्तकालयले नयाँ जीवन पाउन पाउन लागेको खबरले यस भेगका प्राज्ञ र अनुसन्धानकर्ता खुसी भएका छन् । पुस्तकालय सञ्चालनमा आएसँगै यहाँ भाषा, साहित्य र अन्य क्षेत्रको अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि थप सहज हुने मटिहानीस्थित संस्कृत क्याम्पसका प्राचार्य हेमनारायण लाल कर्णको कथन छ । यस अभियानले पुस्तकालयको इतिहास संरक्षणसँगै नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने र शिक्षा तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल हुने यस भेगका शिक्षाविद्को भनाइ छ ।




