हुम्ला, भदौ १७ गते । भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ ।

	रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । 

	उहाँका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडाअध्यक्षबाट सात दिन, कार्यपालिका सदस्यबाट चार दिन र वडा सदस्यबाट दुई दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।

	गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीबाट सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार तलब तथा पारिश्रमिकबाट कट्टा हुने गरी उक्त कोषमा योगदान गर्नेछन्  । चङ्खेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवाको एक जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए । उनीहरूलाई सरकारले उद्धार गरी शिविरमा राखेको भए पनि घर फर्कन नसकेको पाइएको छ । 

	उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरिनेछ । 


यसैगरी बाके जिल्ला उद्योग वाणिज्य सङ्घले पनि सहयोग जुट्दैपाँच लाख ६० हजार सहयोग गर्ने भएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उद्योग वाणिज्य सङ्घ नेपालगन्जले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको हो। 

	सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट रु पाँच लाख ६० हजार सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँले बाढीपीडितलाई सहयोग गर्नु तत्कालको पहिलो दायित्व भएको जनाउँदै नवनिर्वाचित पदाधिकारीबाट सङ्कलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने बताउनुभयो । 

यसैगरी बाँकेकै नौबस्ताका कैदी बन्दीले पनि सहयोग गरेका छन् । नौबस्ता कारागारमा रहेका ४६६ जना कैदीबन्दीले रु ४९ हजार ५१० सहयोग गरेका हुन् ।

	कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । विपत्को समयमा आफूहरू पनि प्रभावित नागरिकको पीडामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।

	नौबस्ता कारागारका निमित्त प्रमुख ज्ञानबहादुर ओलीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बन्दीले स्वैच्छिक रूपमा रकम सङ्कलन गरेको बताउनुभयो । सो रकम सङ्कलन गर्नुअघि बन्दीले बाढीमा परी ज्यान गुमाउनेप्रति सामूहिक रूपमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।