कर्णाली, भदौ १६ गते । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले गैरसरकारी विधेयक सभामा टेबल नगरिएको भन्दै बैठक अवरुद्ध गर्नुभएको छ ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको ३१औँ बैठकको आकस्मिक समयमा बोल्दै सदस्य शर्माले विधेयक डम्पिङ गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । पूर्वमुख्यमन्त्री रहनुभएका शर्माले आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरेसम्म बैठक अगाडि बढ्न नदिने धारणा राख्दै सभाको अगाडि धर्ना बस्नुभयो ।
शर्माले भन्नुभयो, “सात दिनमा परिपक्व हुने विधेयक एक महिनासम्म कार्यसूचीमा राखिएन र सदनमा बहस गर्न दिइएन । यसप्रति मेरो घोर आपत्ति छ ।” उहाँले ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गत साउन १२ गते दर्ता प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो । बैठक सूचारु हुन नसकेपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि स्थगित भएको सूचना गर्नुभयो ।




