धनुषा, भदौ १५ गते । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य छैनन् । दिनरात पूजा श्रीमान् अजय सिंहको प्रतीक्षामा मोबाइल हातमा लिएर बस्नुहुन्छ । आँखामा निद्रा छैन । मोबाइलको स्क्रिनमा पटक–पटक श्रीमान्को नम्बर हेर्छिन्, फोन गर्छिन् । तर, घण्टी बज्दैन । फोन उठ्दैन । प्रत्येक असफल प्रयाससँगै उनको मनमा आशङ्का बढ्छ र आँखाबाट आँसु झर्छ ।

उहाँ जसलाई भेटे पनि “मेरो बुढा कस्तो अवस्थामा हुनुहुन्छ ? त्यहाँ के भइरहेको छ ? केही जानकारी पाएको छैन”, रुदै पूजा भन्नुहुन्छ, “प्लिज, जसरी भए पनि उहाँको अवस्थाबारे जानकारी पाउँ । प्लिज मलाई उहाँसँग कुराकानी गराइदिनुस् ।” रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत धनुषाको कमला नगरपालिका–६ सखुवा मडानको अजय बाढी आउनुअघिसम्म नियमित रूपमा परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । परिवारसँग कुराकानी गर्ने, आफ्नो अवस्थाबारे जानकारी दिने र घरपरिवारको हालखबर सोध्ने उहाँको दैनिकी थियो । तर, रसुवामा बाढी आएपछि उहाँ एकाएक सम्पर्कविहीन हुनुभयो । त्यसयता उहाँको मोबाइल लगातार बन्द छ ।

श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाउँदा पूजाको बेचैनी दिन प्रतिदिन बढिरहेको छ । बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको खबर सुनेदेखि उनको मनमा एउटै प्रश्न घुमिरहेको छ– अजय कहाँ हुनुहुन्छ रु “एकपटक उहाँको आवाज मात्रै सुन्न पाए पनि हुन्थ्यो”, पूजा भन्नुहुन्छ, “उहाँ सुरक्षित हुनुहुन्छ भन्ने खबर मात्रै पाए पनि मेरो मन शान्त हुन्थ्यो ।”

अजयको सम्पर्कविहीनताको खबरपछि उहाँको घरमा सन्नाटा छाएको छ । सामान्य दिनचर्या पनि अस्तव्यस्त भएको छ । घरमा परिवारका सदस्यबीच कुराकानी भए पनि सबैको ध्यान मोबाइलमै हुन्छ । अपरिचित नम्बरबाट फोन आउँदा केही खबर आयो कि भन्ने आशा जाग्छ । तर, धेरैपटक ती फोन अपेक्षाविपरीत हुन्छन् । त्यसपछि फेरि सुरु हुन्छ प्रतीक्षा ।

पूजाको जस्तै अवस्था अहिले रसुवाको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारको छ । कसैका श्रीमान् सम्पर्कविहीन छन्, कसैका दाइ–भाइ त कसैका छोरा । रोजगारीका लागि घरदेखि टाढा पुगेका आफन्त विपद्पछि सम्पर्कविहीन हुँदा परिवारका सदस्यहरू अनिश्चितताको पीडामा छन् ।

रसुवामा जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा काम गर्ने धेरै व्यक्ति बाढी र पहिरोपछि सम्पर्कविहीन भएका छन् । आफन्तहरू उनीहरूको अवस्थाबारे जानकारी लिन प्रहरी, प्रशासन, अस्पताल तथा उद्धारमा खटिएका निकायसम्म पुगिरहेका छन् । कतै आफ्नो मान्छेको नाम भेटिन्छ कि, कतै फोटो देखिन्छ कि वा कसैले “उहाँ सुरक्षित हुनुहुन्छ” भनेर खबर गरिदिन्छ कि भन्ने आशामा उनीहरू दिनरात भौँतारिरहेका छन् ।

बाढीले सडक, पुल, घर र बस्तीमा क्षति पु¥याएको छ तर त्यसको असर भौतिक संरचनामा मात्र सीमित छैन । विपद्ले धेरै परिवारको शान्ति, खुसी र नियमित जीवनसमेत खोसेको छ । कसैले आफन्त गुमाएको पीडा भोगिरहेका छन् भने कतिपय परिवार अझै ‘सम्पर्कविहीन’ भन्ने शब्दको अनिश्चिततामा अड्किएका छन् ।

पूजाको प्रतीक्षा पनि त्यही अनिश्चिततासँग जोडिएको छ । हातमा मोबाइल, आँखामा आँसु र मनमा श्रीमान्को सम्झना बोकेर उहाँ हरेक क्षण अजयको खबर पर्खिरह्नु भएको छ । “उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहोस्”, उहाँ भन्नुहुन्छ । अजयको खोजी र उहाँको अवस्थाबारे यकिन गर्ने प्रयास जारी छ । तर धनुषामा पूजा भने अझै श्रीमान् फर्किने आशामा हुनुहुन्छ । उहाँको लागि अहिले समय रोकिएजस्तै भएको छ ।

उहाँको मनमा एउटै प्रश्न छ– “मेरो अजय कहाँ हुनुहुन्छ रु” र, उहाँको आँखाबाट बगिरहेको आँसुको एउटै आग्रह छ– “प्लिज।।। जसरी भए पनि मेरो बुढासँग एकपटक कुरा गराइदिनुस् ।” पूजा फेसबुकको वाल हेर्दै निराश हुँदै भन्नुहुन्छ, “अहिले सम्म मेरो श्रीमान्को बारे केही खबर प्राप्त भएन “मात्र एकपछि अर्को गरी पोष्टहरु घण्टैपिच्छे देखिको छ । बहुत कहालीलाग्दो अवस्था छ ।

भर्खरै फेसबुकमा उहाँले पोष्ट गर्नुभएको छ, मेरा श्रीमान्लगायत धेरै जनाको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । यो अवस्था परिवारका लागि अत्यन्त पीडादायी र चिन्ताजनक बनेको छ । उहाँले सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन, विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई धन्यवाद दिँदै सम्पर्कविहीन अवस्थामा रहेका सबै नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिदिनुहुन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

मधेसका १५१ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका आठ जिल्लाका १५१ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढीपहिरोपछि सम्पर्कविहीन भएका १७४ जनामध्ये शनिबार बिहानसम्म २३ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन हुनेको सङ्ख्या सबैभन्दा बढी सप्तरीमा ४७ जना रहेको छ । सप्तरीमा बाढीपहिरोपछि ४८ जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका हुन् ।

त्यस्तै, पर्सामा प्रारम्भिक रूपमा ३९ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि ३६ जना अझै सम्पर्कविहीन छन् । बारामा २३ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन् भने २० जना अझै सम्पर्कबाहिर छन् । रौतहटमा बाढीपहिरोपछि १७ जना सम्पर्कविहीन भएकामा छ जना सम्पर्कमा आएका छन् । रौतहटमा ११ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा १५ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि १२ जना सम्पर्कविहीन छन् ।

महोत्तरीमा प्रारम्भिक रूपमा १७ जना सम्पर्कविहीन भएकामा दुई जना सम्पर्कमा आएका छन् । जिल्लामा १५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ । धनुषामा पाँच जना सम्पर्कविहीन भएकामा चार जना सम्पर्कमा आएपछि एक जना अझै सम्पर्कविहीन छन् । त्यसैगरी, सिरहामा १० जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका छन् भने नौ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोपछि मधेस प्रदेशका आठ जिल्लाबाट सम्पर्कविहीन भएको प्रारम्भिक विवरण १७४ जनाको थियो । शनिबार बिहानसम्म २३ जना सम्पर्कमा आएपछि अझै १५१ जनाको अवस्था अज्ञात रहेको छ । प्रहरीले सम्पर्कविहीन व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भएकाले सम्पर्कविहीनको यकिन विवरण सङ्कलनमा समेत कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । रासस