बुटवल, भदौ ९ गते । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज मङ्गलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद हुनुहुन्छ । जसमा रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य मन्त्रालय, दाङका इन्द्रजित थारूलाई इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
साउन १२ गते नेपाली काङ्ग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्य प्रक्रिया अघि बढेको थियो । केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना तीन मन्त्रीको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मुख्यमन्त्री आचार्यले आज तीन मन्त्री नियुक्त गर्नुभएको हो ।




