मकवानपुर, भदौ ४ गते । बागमती प्रदेश सरकारमा नयाँ मन्त्रिमण्डल गठन भएको छ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले छ मन्त्री नियुक्त गरेपछि नयाँ मन्त्रिमण्डल गठन भएको हो ।

आजै किरण थापा मगरको नेतृत्वमा गठित मन्त्रिपरिष्दका नवनियुक्त छ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सत्तारुढ गठबन्धन दल एमाले, नेकपा र राप्रपाबाट मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेका हुन् । प्रदेशका ८ मन्त्रालयमध्ये थापाले राप्रपाबाट तीन र नेकपाबाट एक जना मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री थापाले प्रदेश सरकारमा एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङलाई मन्त्री बनाउनुभएको छ नेकपाबाट सरल सहयात्री र राप्रपाबाट राप्रपाबाट गिरबहादुुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री बन्नुभएको छ ।

मन्त्री नियुक्त भएका भारत बहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसैगरी राप्रपाका तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, विष्टलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने ज्ञानबहादुर तामाङ भने कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

मुख्यमन्त्री थापाले प्रदेशको कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफू मातहत नै राख्नुभएको छ । मुख्यमन्त्री थापाले राख्नुभएको मन्त्रालयमध्ये एउटा नेकपा र अर्को एमालेको भागमा परेको छ । बाँकी मन्त्रीमा कसलाई पठाउने भन्नेमा अझै टुङ्गो लागेको छैन ।