मकवानपुर, भदौ ४ गते । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठन गर्न दाबी पेश गर्नुभएपछि थापामगरलाई आज बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६३ जना सांसदहरुले समर्थन गर्दै प्रदेश प्रमुख देवकोटासमक्ष एमाले नेता थापामगरलाई मुख्यमन्त्रीको लागि हिजो बुधबार दावी प्रस्तुत गर्नुभएको थियो ।
यसअघि एमालेको समर्थनमा नेपाली काङ्ग्रेसबाट बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्नुभएका इन्द्रबहादुर बानियाँले भदौ १ गते प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउने अवस्था नदेखिएपछि बानियाँले राजीनामा दिएका थिए । त्यस लगत्तै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै आज भदौ ४ गते बिहीबार ४ बजेसम्मको समयसीमा तोक्नुभएको थियो । सोही समयसीमा भित्र बहुमत सदस्यहरुको समर्थनमा प्रदेश प्रमुख देवकोटाले एमालेका सांसद थापामगरलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदहरुको समर्थन रहेको छ । यद्यपि, मुख्यमन्त्री थापालाई समर्थन गरेको राप्रपा भित्र विवाद चर्किएको छ । राप्रपा केन्द्रले प्रदेश सरकारमा नजाने र समर्थन पनि नगर्ने निर्णय गरेता पनि बागमती प्रदेशमा भने राप्रपाले विवादका बीच एमालेको नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा जाने निर्णय गरेको छ ।
थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालको चौंथो मुख्यमन्त्री बन्नुभएको छ । यसअघि नेकपाका शालिकराम जमरकट्टेल, काङ्ग्रेसका बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नुभएको थियो ।




