मस्को, भदौ २ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो दाबी गर्दै आएको विवादित कुरिल टापुको भ्रमण गरेपछि टोकियोले त्यसको विरोध जनाएलगत्तै मस्कोले जापानी राजदूत अकिरा मुटोलाई बोलाएको छ । रुसले पुटिनको भ्रमणप्रति जापानी अधिकारीको आलोचनालाई कूटनीतिक मर्यादाविपरीत भएको बताउँदै राजदूतसँग स्पष्टीकरण माग्न लागेको हो ।

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार जापानी अधिकारीहरूले राष्ट्रपति पुटिनको भ्रमणको आलोचना गरेर ‘सभ्यताको रेखा पार’ गरेको बताउनुभयो । उहाँका अनुसार जापानी राजदूतलाई बोलाएर जापानी नेतृत्वको व्यवहार र आयोजक देशमा राजदूतले पालना गर्नुपर्ने कूटनीतिक आचरणबारे जानकारी गराइनेछ ।

“हामीले जापानी राजदूतलाई बोलाएका छौँ”, लाभ्रोभले पत्रकारहरूसँग भन्नुभयो । यद्यपि जापानी पक्षले सुरुमा राजदूत मुटो तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । उहाँ मस्कोमा नरहेको वा अस्वस्थ भएको जानकारी आफूहरूले पाएको लाभ्रोभले बताउनुभयो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पछि राज्य समाचार संस्था तासलाई राजदूत मुटोले अचानक आफूलाई राम्रो महसुस गरेको र मङ्गलबार मन्त्रालयमा उपस्थित हुने जानकारी दिइएको बताउनुभयो ।

रुस र जापानबीचको सम्बन्ध लामो समयदेखि कुरिल टापुहरूको स्वामित्व विवादका कारण तनावपूर्ण रहँदै आएको छ । जापानले यी टापुलाई ‘उत्तरी क्षेत्र’ का रूपमा दाबी गर्दै आएको छ भने सन् १९४५ मा सोभियत सङ्घले कब्जामा लिएपछि ती रुसी नियन्त्रणमा छन् ।

राष्ट्रपति पुटिनले जापानसँग विवादित ती टापुको हालै भ्रमण गर्नुभएको थियो । उहाँले त्यसअघि रुसको सुदूरपूर्वमा पर्ने सखालिन टापुको भ्रमण गर्नुभएको थियो । पुटिनको कुरिल भ्रमणपछि जापानले टोकियोस्थित रुसी राजदूतलाई बोलाएर विरोध जनाएको थियो । त्यसको प्रत्युत्तरमा मस्कोले जापानी राजदूतलाई बोलाएको हो ।

त्रिहत्तर वर्षीय पुटिनको भ्रमणलाई लिएर जापानले आपत्ति जनाएपछि दुई देशबीचको पुरानो क्षेत्रीय विवाद पुनः कूटनीतिक तनावको विषय बनेको छ । लाभ्रोभले जापानी राजदूतको समन राष्ट्रपति पुटिनको भ्रमणको आलोचनाप्रति मात्र नभई ‘जापानी नेतृत्वको आचरण’ र आयोजक देशमा राजदूतले कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि केन्द्रित हुने बताउनुभयो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि रुस–जापान सम्बन्ध थप बिग्रिएको छ । जापानले रुसमाथि पश्चिमी प्रतिबन्ध लगाउन अमेरिका तथा अन्य जी–७ राष्ट्रसँग सहकार्य गर्दै आएको छ ।

जापानले युक्रेनलाई आर्थिक सहयोगका साथै गैरघातक रक्षा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । रुसले भने जापानको यस्तो नीतिको आलोचना गर्दै आएको छ ।

पुरानो क्षेत्रीय विवाद र युक्रेन युद्धलाई लिएर दुई देशबीच बढेको राजनीतिक दूरीका कारण पछिल्लो कूटनीतिक विवादले रुस–जापान सम्बन्ध थप जटिल बन्ने सङ्केत गरेको छ ।