फाइल तस्वीर
बागलुङ, भदौ २ गते । बागलुङमा प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगबाट क्षति बेहोरेका १२ पशुपन्छी व्यवसाय पुनःस्थापना गरिएको छ । गत आर्थिक वर्षमा आएको बाढीपहिरो, पशुजन्य रोग तथा महामारीका कारण पूर्वाधार र पशुपन्छीमा भएको क्षतिको मूल्याङ्कन गरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले प्रभावित किसानलाई राहत उपलब्ध गराएको हो ।
कार्यालयले बाढीपहिरोबाट क्षति पुगेका आठ वटा पशु गोठ पुनःनिर्माण, दुई वटा गाई र एउटा गोरु खरिद, १० वटा बाख्रा, पाँचवटा बङ्गुर तथा १२० वटा कुखुराका चल्ला खरिदका लागि सहयोग गरेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
प्राकृतिक प्रकोपका कारण गोठ तथा पशुमा क्षति पुगेपछि निराश भएका किसानलाई पुनःव्यवसायमा फर्काउने उद्देश्यले राहत उपलब्ध गराइएकोे उहाँले बताउनुभयो ।
प्राकृतिक प्रकोप, महामारी तथा अन्य विपद्बाट पशुपन्छी व्यवसायमा भएको क्षतिको राहत तथा पुनःस्थापनाका लागि रु चार लाख ७४ हजार खर्च गरिएको केन्द्रले जनाएको छ ।
गत आवमा राहत वितरणका लागि रु १० लाख विनियोजन गरिए पनि क्षतिको विवरण तथा मूल्याङ्कनका आधारमा १२ व्यवसायीलाई राहत उपलब्ध गराइएको डा सापकोटाले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी तीन वटा गाई र दुई वटा गोरु मरेको अवस्थामा पशुको मूल्याङ्कनका आधारमा नयाँ पशु खरिदका लागि राहत उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
विपद्का कारण पशुपन्छी व्यवसायमा भएको क्षति न्यूनीकरणसँगै प्रभावित व्यवसायीलाई पुनःव्यवसायमा फर्काउन राहत तथा पुनःस्थापनाका कार्यक्रमले किसानको मनोबल बढाउन सहयोग पुगेको केन्द्रले जनाएको छ ।




