काठमाडौँ, साउन २७ गते । नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । देशको ठूलो जनशक्ति युवा छ । युवासँग ऊर्जा छ, सिर्जनशीलता छ, नयाँ कुरा सिक्ने क्षमता छ र परिवर्तन गर्ने साहस पनि छ तर यही युवा जनशक्ति आज रोजगारी, उद्यम, सीप र भविष्यको सुनिश्चितताको खोजीमा छ । कोही विदेश जाने तयारीमा छ, कोही वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा केही गर्न चाहन्छ, कोही सानो व्यवसाय सुरु गर्ने सपना बोकेर बैंक तथा सरकारी कार्यालयको ढोका चहारिरहेको छ । यस्तो अवस्थामा युवाको अपेक्षा केवल सरकारले दिने आर्थिक सुविधा वा अनुदानमा सीमित हुनु हुँदैन ।

युवाले खोजेको वास्तविक कुरा अवसर हो, आत्मनिर्भर हुने वातावरण हो, आफ्नो सीपको सम्मान हो र आफ्नो श्रमबाट भविष्य निर्माण गर्ने बाटो हो । नेपाल सरकारले राष्ट्रिय युवा नीति २०८२ अघि सारेको छ । मन्त्रालयले पनि युवालाई शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील बनाउँदै राष्ट्र निर्माणमा परिचालन गर्ने विषयलाई महत्वपूर्ण मानेको छ । अब चुनौती नीति बनाउने मात्र होइन, त्यसलाई युवाको दैनिक जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नु हो । त्यसैले आजको आवश्यकता स्पष्ट छ–सहज सुविधा होइन, सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा ।

अनुदान समस्याको समाधान होइन

युवालाई आर्थिक सहयोग गर्नु आवश्यक हुनसक्छ तर एकपटक अनुदान दिएरमात्रै युवाको भविष्य सुरक्षित हुँदैन । बरु त्यस्तो सहयोगलाई सीप, व्यवसाय र उत्पादनसँग जोड्न सकिएमा त्यसको प्रभाव दीर्घकालीन हुन्छ । मानौँ, कुनै युवालाई सिलाइ मेसिन दिइयो । मेसिन पाउनु राम्रो कुरा हो तर त्यसपछि के त ? भन्ने प्रश्न आउँछ । उसलाई आधुनिक डिजाइन सिकाइयो कि सिकाइएन ? बजार कहाँ छ भनेर जानकारी दिइयो कि दिइएन ? डिजिटल मार्केटिङ सिकाइयो कि सिकाइएन ? बैंकिङ तथा लेखा व्यवस्थापनको ज्ञान दिइयो कि दिइएन ? उत्पादनलाई ब्रान्ड बनाएर बिक्री गर्ने अवसर दिइयो कि दिइएन ? भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

यदि यी प्रश्नको उत्तर छैन भने मेसिन एउटा सामान मात्र बन्न सक्छ तर मेसिनसँगै सीप, बजार, प्रविधि, वित्तीय ज्ञान र उद्यमशीलता जोडियो भने त्यही मेसिन एउटा रोजगारीको केन्द्र बन्नसक्छ । त्यसैले अबको युवा नीति ‘युवालाई के दिने ?’ भन्दा ‘युवालाई के गर्न सक्ने बनाउने ?’ भन्ने प्रश्नबाट निर्देशित हुनुपर्छ ।

सीपलाई दोस्रो दर्जाको काम नठानौँ

नेपालमा अझै पनि एउटा सामाजिक सोच परिवर्तन गर्न आवश्यक छ– सीपमूलक कामलाई सानो काम ठान्ने प्रवृत्ति । हामीले डिग्रीलाई सम्मान गर्छौँ तर सीपलाई त्यति सम्मान गर्दैनौँ । कार्यालयको जागिरलाई प्रतिष्ठित ठान्छौँ, तर आफ्नो हातको सीप प्रयोग गरेर व्यवसाय गर्ने व्यक्तिलाई त्यति महत्व दिँदैनौँ । यो सोच परिवर्तन नगरी युवा आत्मनिर्भर बन्न सक्दैन । टेलरिङ, बुनाइ, काष्ठकला, धातुकला, हस्तकला, कृषि, पर्यटन, होटल व्यवसाय, निर्माण, सौन्दर्य सेवा, सूचना प्रविधि, डिजाइन तथा अन्यअ प्राविधिक क्षेत्रमा सीप भएका युवाले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छन् ।

म आफैँ परम्परागत सीपसँग जोडिएको व्यवसायमा काम गरिरहेको युवा व्यवसायी भएकाले मैले नजिकबाट देखेको कुरा हो– सीप पुरानो हुन सक्छ, तर सोच कहिल्यै पुरानो हुनु हुँदैन । परम्परागत टेलरिङलाई आधुनिक फेसन उद्योगमा बदल्न सकिन्छ । स्थानीय उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ । हातको सीपलाई डिजिटल प्रविधिसँग जोड्न सकिन्छ । यही परिवर्तनका लागि युवा नीतिले प्रोत्साहन दिनुपर्छ ।

विदेश जाने बाध्यता कम गरौँ

वैदेशिक रोजगारी नेपाली युवाको एउटा महत्वपूर्ण विकल्प बनेको छ । विदेश गएर आफ्नो परिवार र देशको अर्थतन्त्रमा योगदान गर्ने युवाको श्रमको सम्मान हुनुपर्छ । तर प्रश्न अर्को पनि छ–नेपालमै युवाले भविष्य देख्न सक्ने वातावरण हामीले कहिले बनाउने ?

यदि एउटा युवा नेपालमा बसेर आफ्नो सीप प्रयोग गरी राम्रो आम्दानी गर्न सक्छ, सानो व्यवसायलाई ठूलो बनाउन सक्छ र अरू पाँच वा दस जनालाई रोजगारी दिन सक्छ भने त्यसले देशको अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्याउन सक्छ । त्यसैले ‘विदेश नजाऊ’ भनेर मात्र युवालाई रोक्न सकिँदैन । देशमै रोजगारी, बजार, पूँजी, प्रविधि र सम्मान दिनुपर्छ । युवाले नेपालमै सम्भावना देख्न थालेपछि मात्र वैदेशिक रोजगारीको बाध्यता क्रमशः कम गर्न सकिन्छ ।

शिक्षा र सीपबीचको दूरी हटाउनुपर्छ

नेपालको शिक्षा प्रणालीमा पनि परिवर्तन आवश्यक छ । सबै युवाले एउटै बाटो रोज्नुपर्छ भन्ने छैन । कसैलाई विश्वविद्यालयको शिक्षा आवश्यक हुन्छ, कसैलाई प्राविधिक शिक्षा, कसैलाई व्यवसायिक तालिम र कसैलाई आफ्नै व्यवसाय सञ्चालन गर्ने सीप । विद्यालय तहदेखि नै युवालाई ‘सिक र कमाउ’ अर्थात् सिक्दै कमाउने संस्कृतिसँग जोड्न सकिन्छ ।

फेसन डिजाइन, टेलरिङ, कृषि प्रविधि, होटल व्यवस्थापन, डिजिटल मार्केटिङ, इलेक्ट्रिकल, प्लम्बिङ, निर्माण, हस्तकला, सौन्दर्य सेवा, सूचना प्रविधिजस्ता क्षेत्रमा व्यवहारिक शिक्षा विस्तार गर्नुपर्छ । विशेषगरी फेसन उद्योग र परम्परागत सीपलाई प्राविधिक शिक्षासँग जोड्नुपर्ने आवश्यकता छ । नेपालमा उत्पादन हुने कपडा, नेपाली डिजाइन, हस्तकला र स्थानीय सीपलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन सकिने ठूलो सम्भावना छ ।

युवालाई उद्यमी बनाउने वातावरण

युवा व्यवसायी बन्न चाहन्छ, तर व्यवसाय सुरु गर्दा अनेकौँ समस्या आउँछन् । व्यवसाय दर्ता, कर प्रणाली, बैंक ऋण, धितो, बजार, प्रविधि, कर्मचारी व्यवस्थापन र सरकारी प्रक्रियाले धेरै युवालाई निरुत्साहित गर्छ । त्यसैले युवा उद्यमीका लागि एकद्वार सेवा, सरल दर्ता प्रक्रिया, सहुलियतपूर्ण ऋण, व्यवसायिक परामर्श, डिजिटल सेवा र बजारसँग जोड्ने कार्यक्रम आवश्यक छ । युवालाई ऋण मात्र दिएर पुग्दैन । ऋणसँगै व्यवसाय सञ्चालन गर्ने ज्ञान पनि दिनुपर्छ । सरकार, बैंक, निजी क्षेत्र, शैक्षिक संस्था र युवा उद्यमीबीच सहकार्यको बलियो प्रणाली विकास गर्नुपर्छ ।

युवालाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा हेर्नु गलत हो । युवा स्वयं रोजगारी सिर्जना गर्न सक्ने शक्ति हो । एउटा सफल युवा उद्यमीले आफूसँगै अरू धेरै युवालाई रोजगारी दिनसक्छ । एउटा सानो सिलाइ व्यवसाय ठूलो उत्पादन केन्द्र बन्नसक्छ । एउटा सानो कृषि व्यवसाय प्रशोधन उद्योग बन्नसक्छ । एउटा स्थानीय हस्तकला व्यवसाय अन्तर्राष्ट्रिय ब्रान्ड बन्नसक्छ । त्यसैले युवा नीति रोजगारी खोज्ने युवाबाट रोजगारी सिर्जना गर्ने युवातर्फ केन्द्रित हुनुपर्छ । यसका लागि सफल युवा उद्यमीको अनुभवलाई पनि नीति निर्माणमा समेट्नुपर्छ । नीति कागजमा मात्र होइन, व्यवसाय सञ्चालन गरिरहेका युवाको वास्तविक अनुभवमा आधारित हुनुपर्छ ।

सम्मान पनि रोजगारी जत्तिकै महत्वपूर्ण छ । युवालाई आर्थिक अवसरसँगै सामाजिक सम्मान पनि चाहिन्छ । हामीले श्रमको सम्मान गर्न सिक्नुपर्छ । किसान, टेलर, कालिगढ, डिजाइनर, प्राविधिक, उद्यमी, कलाकार वा डिजिटल क्षेत्रमा काम गर्ने युवा– सबै राष्ट्र निर्माणका साझेदार हुन् । काम सानो वा ठूलो हुँदैनस कामप्रतिको इमानदारी, सीप र सोच ठूलो हुन्छ । जब समाजले युवाको सीपलाई सम्मान गर्न थाल्छ, युवाले पनि आफ्नो श्रमप्रति गर्व गर्न थाल्छ ।

परिणाममुखी युवा नीतिको खाँचो

अब हामीले युवा नीति कागजमा कति राम्रो छ भनेर मात्र बहस गर्ने होइन, त्यसको परिणाम के आयो भनेर हेर्नुपर्छ । कति युवाले सीप पाए ?, कति युवाले व्यवसाय सुरु गरे ? कति रोजगारी सिर्जना भयो ?, कति युवा विदेश जानुपर्ने बाध्यताबाट रोकिए ? कति परम्परागत सीप आधुनिक उद्योगमा रूपान्तरण भए ?, कति युवा उद्यमी बजारसँग जोडिए ? यस्ता प्रश्नको उत्तर दिने गरी परिणाममा आधारित युवा नीति आवश्यक छ । युवालाई लाभग्राहीको सूचीमा राखेर मात्र देशको भविष्य बदलिँदैन । युवालाई नीति निर्माण, कार्यान्वयन र मूल्याङ्कनको प्रक्रियामै सहभागी गराउनुपर्छ ।

अन्त्यमा, नेपालका युवामा क्षमता छैन भन्ने होइन । अवसरको कमी छ । युवा मेहनत गर्न चाहन्छ, सिक्न चाहन्छ, व्यवसाय गर्न चाहन्छ, नयाँ सिर्जना गर्न चाहन्छ । उसलाई आवश्यक छ—सही नीति, सहज वातावरण, पूँजीमा पहुँच, बजार, प्रविधि र सम्मान । सरकारले युवालाई केही समयका लागि आर्थिक सुविधा दिएर सहयोग गर्न सक्छ तर सीप, रोजगारी र उद्यमको वातावरण निर्माण गरेर मात्र दीर्घकालीन आत्मनिर्भरता सुनिश्चित गर्न सक्छ ।

हामीले युवालाई हात फैलाउने होइन, हातले अवसर सृजना गर्ने बनाउनुपर्छ । युवालाई रोजगारी खोज्नेमात्र होइन, रोजगारी सृजना गर्ने बनाउनुपर्छ । युवालाई विदेश जाने बाध्यतामा होइन, नेपालमै सम्भावना देख्ने आत्मविश्वासमा उभ्याउनुपर्छ । परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडौँ । स्थानीय उत्पादनलाई ब्रान्ड बनाऔँ । युवाको श्रमलाई सम्मान गरौँ । उद्यमलाई प्रोत्साहन गरौँ । सीपलाई शिक्षासँग जोडौँ । सरकारी नीतिलाई बजार र उत्पादनसँग जोडौँ । किनकि नेपालको युवा केवल देशको भविष्य होइन– आजकै नेपालको आर्थिक र सामाजिक परिवर्तनको शक्ति हो । त्यसैले स्पष्टका साथ भन्न सकिन्छ– ‘सहज सुविधा होइन– सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा ।’ यही सोचलाई व्यवहारमा उतार्न सकेमा युवा नेपालको समस्या होइन, नेपालको सबैभन्दा ठूलो सम्भावना र शक्ति बन्नेछ ।

आज अन्तर्राष्ट्रिय युवा दिवससमेत भएको सन्दर्भमा हाम्रा युवा केन्द्रित नीति, योजना र कार्यक्रमको समीक्षा गर्दै यसलाई आगामी दिनमा परिणाममुखी बनाउने प्रण गर्ने अवसर पनि हो । सन् २००० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको यो दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । (लेखक युवा व्यवसायी हुनुहुन्छ)