काठमाडौँ, साउन २१ गते । चालु आर्थिक वर्षका लागि तय भएको निजी फलफूल नर्सरी सुदृढीकरण कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालय मातहतको राष्ट्रिय फलफूल विकास आयोजनाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा फलफूल नर्सरीको क्षमता विस्तार गर्ने कार्यक्रम सञ्चालन गर्दैछ ।
नर्सरीको क्षमता विस्तार तथा उत्पादन हुने बिरुवाको गुणस्तर सुधार गर्न इच्छुक नर्सरीधनीबाट प्रस्ताव माग गरिएको छ । सङ्घीय मामिला मन्त्रालयले यस सम्बन्धमा पनि आवश्यक सहजीकरणका लागि सबै स्थानीय तहलाई बुधबार पत्राचार गरेको हो ।
सो कार्यक्रममा आबद्ध हुने किसानले ५० प्रतिशतसम्म अनुदान प्राप्त गर्नेछन् । ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार गुणस्तरीय फलफूलको बिरुवा उत्पादन गर्न नर्सरीको क्षमता विस्तार र गुणस्तर सुधारमा जोड दिइएको छ ।
त्यसका लागि केन्द्रीय आयोजना व्यवस्थापन इकाइ कीर्तिपुरमा एक महिनाभित्र आवेदन दिनुपर्नेछ । आवेदनसहित विभिन्न कागजपत्र समेत पेस गर्नुपर्नेछ ।
त्यस्तै, मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रमका लागि पनि आवश्यक समन्वय, सहजीकरण र व्यवस्थापनका लागि स्थानीय तहलाई अनुरोध गरेको छ । खोप छुट भएका बालबालिकाको पहिचान र पहुँच बढाइ खोप पूरा गराउन, तराई र भित्री मधेशका जिल्लामा नियमित खोपसँगै समुदाय स्तरमा थप खोप केन्द्र सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न भनिएको छ ।
त्यसका लागि विगतको अभ्यास, प्रगति तथा अन्य अवस्थाको विश्लेषण गरी खोप केन्द्रलाई पायक र पहुँच योग्य बनाउनुपर्ने छ । नियमित खोप केन्द्र समुदायबाट टाढा भएको भए अत्यावश्यक स्थान चयन गरी निरन्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । भीडभाड हुने स्थानमा थप व्यवस्था गरी खोप सेवा प्रभावकारी र पहुँचयोग्य भएको सुनिश्चित गर्न आग्रह गरिएको छ ।




