काठमाडौँ, साउन १८ गते । पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागूहुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगम सञ्चालक समितिको निर्णयअनुसार आज सोमबार बिहानदेखि लागू हुने गरी भएको नयाँ मूल्य समायोजन गरेको छ । निगमलाई पेट्रोलियम पदार्थ विक्री गर्दै आएको भारतीय आयाल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जानकारी गराएपछि नेपालमा पनि मूल्य वृद्धि भएको निगमको भनाइ छ ।
नयाँ मूल्य अनुसार निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ वृद्धि गरेको छ। यसअघि तेस्रो वर्गअन्तर्गतका क्षेत्रहरू काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १९७ र डिजेलको १९५ रुपैयाँ रहेकोमा अब दुवैको मूल्य समान २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै पहिलो र दोस्रो वर्गका क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य वृद्धि गरिएको छ । निगमले पहिलो वर्गमा पेट्रोल प्रतिलिटर रु. १९७।५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०० रुपैयाँ तोकेको छ । काठमाडौँ उपत्यकासहितका पोखरा र दिपायलमा मुख्य सहरहरूमा पेट्रोल र डिजेलको भाउ बराबर अर्थात् प्रतिलिटर २०० रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २०६० रुपैयाँ यथावत राखिएको छ ।





