काठमाडौँ, साउन ११ गते । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो ।
काठमाडौँको बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डिडिसीले जनाएको छ । यसैबीच, डिडिसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आइतबारदेखि नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्याएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् । डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डिडिसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ ।
डिडिसीका महाप्रवन्धक डा शरणकुमार पाण्डेले निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको र आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्री वितरण गर्ने योजना अघि सारेको र केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने बताउनुभयो ।
“हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदै छौँ, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डिडिसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुईरचार दिनमा सुरु हुन्छ” भन्दै महाप्रवन्धक पाण्डेले “सहज ढङ्गबाट डिडिसीको उत्पादन उपभोक्ताको घरमै पुर्याउने उद्देश्यका साथ काम भइरहेको छ” भन्नुभयो ।




