काठमाडौँ, साउन ११ गते । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गर्दै लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको हो ।

विभागका अनुसार आज रातिदेखि नै लमजुङ्को घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने भन्दै सो क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ । ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।