काठमाडौँ, साउन १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आज काठमाडौँमा माया पब्लिकेसन्सद्वारा आयोजित ‘नेपालको जलस्रोत’ पुस्तक लोकापर्ण कार्यक्रममा पुस्तकको विमोचन गर्दै जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गर्नुभएको हो ।

नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित जलस्रोत विज्ञ महाजन यादवद्वारा लिखित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक गर्दै जसपा नेपालका अध्यक्ष यादवले नेपाल अन्य देशको तुलनामा जलसम्पन्न मुलुक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताउनुभयो । उहाँले जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाई, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

जलस्रोत विज्ञ तथा राजनीतिज्ञसमेत रहनुभएका लेखक यादवले पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताउनुभयो । 

यादवका अनुसार पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण प्रस्तुत गर्दै जलवायु परिवर्तनको युगमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरूलाई समेत समेटेको छ । 


पुस्तक ‘नेपाल्स वाटर रिसोर्सेस’ शीर्षकका अङ्ग्रेजी संस्करणमा पनि प्रकाशित छ । दुवै संस्करणको विमोचन गरिएको हो । पुस्तकमा नेपालको जलस्रोत विकासका ढाँचाहरु र जलवायु परिवर्तनको युगका उदयीमान चुनौतीहरू समेटिएको छ ।


कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासे, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका पूर्वसचिव महेन्द्रनाथ अर्याल, डा द्वारिकानाथ ढुङ्गेल, ऊर्जा विज्ञ रत्नेश्वरलाल कायस्थलगायतले पुस्तकको विशेषता र नेपालको जलस्रोतको सम्भावनाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।