किएभ, साउन ६ गते । युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार घोषणा गरेका छन् । युक्रेनी समाचार एजेन्सी युक्रेनफर्मका अनुसार रूसी सेनाले विगत २४ घण्टामा युक्रेनको जापोरिजिया क्षेत्रका ५४ वटा बस्तीमा ९७९ वटा ड्रोन आक्रमण गरी तीन जनाको ज्यान लिएको तथा आक्रमणमा परी २४ जना घाइते भएको रिपोर्ट गरेको छ ।
रूसी अधिकारीहरूले आफ्नो सेनाले बहु–प्रक्षेपण रकेट प्रणालीका साथै दश वटा युक्रेनी ड्रोन कमान्ड केन्द्रहरू नष्ट गरेको घोषणा गरे पछि यो घटनाको विवरण आएको हो ।
रूसको स्पुतनिक समाचार एजेन्सीले रूसी सेनाले खार्किव र सुमी क्षेत्रलाई लक्षित गरी रातारात २०० भन्दा बढी आक्रमण गरेको रिपोर्ट गरेको छ ।
पछिल्लो समयमा रूसले बन्दरगाहहरू लगायत धेरै युक्रेनी सुविधाहरूमा आफ्ना आक्रमणहरू तीव्र पारिरहेको छ भने दुवै पक्ष बीच निरन्तर सैन्य क्रियाकलापको वृद्धि र आसन्न राजनीतिक तथा कुटनैतिक समाधानको कुनै संकेत नभएको अवस्था सिर्जना भएको जनाइएको छ ।




