काठमाडौँ साउन ४ गते । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ । साविक विजेता अर्जेन्टिनालाई १-०गोलले पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको हो ।
स्पेनले फिफा विश्वकप जितेको यो दोस्रो पटक हो । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि चुमेको थियो । अर्जेन्टिनालाई एकपक्षीय दवावमा राख्दै स्पेनले फाइनलमा आफ्नो प्रभावशाली खेल प्रस्तुत गर्न सफल भयो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।
अत्तिरिक्त समयमा स्पेनका लागि फेर्रान टोरेजले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।
खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो ।
सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।
स्पेन अहिले आफ्ना पछिल्ला ३८ खेलहरूमा अपराजित रहेको छ । जसमा २९ जित र ९ बराबरी भएका छन्। स्पेनले फिफा विश्वकप २०२६ प्रतियोगिताका आठ खेलहरूमा मात्र एक गोल ब्यहोऱ्यो, जसले कुनै पनि च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ विश्वकप कीर्तिमान कायम गरेको छ।
स्पेनको ऐतिहासिक जितसँगै व्यक्तिगत अवार्डमा पनि स्पेनी खेलाडीहरूको वर्चस्व देखिएको छ। रोड्रीले गोल्डेन बल, उनाइ सिमोनले गोल्डेन ग्लोभ तथा पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका छन्।




