काठमाडौँ, साउन ३ गते । फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । फिफा विश्वकपको जारी संस्करणमा तेस्रो स्थानका लागि हिजो शनिबार राति अमेरिककामा सम्पन्न खेलमा फ्रान्सका क्याप्टेन किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा आफ्नो नाममा दर्ता गराएका छन् । तेस्रो स्थानका लागि हिजो इङग्यालण्ड र फ्रान्सबीच भएको खेलमा फ्रान्सेली स्टार एम्बाप्पेले दुई गोल गरेपछि उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सफल भएका हुन् ।
भलै, एम्बाप्पेलाई अर्जेन्टिनाका क्याप्टेन लियोनल मेसीले पछ्याउँदै छन् । जारी विश्वकप संस्करण समापनको अन्तिम अवस्थामा पुगेको छ । यस अघि २१ गोल गरिसकेका मेसीभन्दा एम्बाप्पेको १ गोलले मात्र अघि छन् । आज हुने स्पेन र अर्जेन्टिनाबीच हुने फाइनल खेलमा मेसीले १ गोल गर्न सकेमा एम्बाप्पेसँग बराबरी गर्ने छन् भने बढी गोल गर्न सकेमा एम्बाप्पेलाई उछिनेर मेसी पुनः पहिलो स्थानमा पुग्ने छन् । यद्यपि, एम्बाप्पे नै बलियो छन् । एम्बाप्पेको रेकर्ड तोड्न मेसीले आजहुने फाइनल खेलमा स्पेनविरुद्ध कम्तिमा पनि दुई गोल गर्नुपर्ने हुन्छ ।
फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तथ्याङ्क पूरै बदलिदिएको छ ।
लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई अमेरिकामा जारी विश्वकपको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्ने छन्, नेपाली समय अनुसार आइतबार राती १२:४५ बजे सुरु हुने विश्वकप फाइनलले यसको छिनोफानो गर्ने छ ।
सर्वाधिक गोलकर्ता एम्बाप्पे

फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पुर्याएका छन् । एम्बाप्पेले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गरेका छन् । उल्लेखनीय कुरा के छ भने उनले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन् ।
मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका, तर कठिन
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेल्नुभएको छ र ३३ खेलमा २१ गोल गरेका छन् । सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिएको थिए । तर एम्बाप्पेले पछि उनीहरूलाई उछिने । अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। यसका लागि दुई गोल चाहिन्छ ।
क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा
जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा छन् भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन् । इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा छन् ।
इङ्ल्याण्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाएका थिए । यो रेकर्ड अहिलेसम्म कायम छ ।
अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गरेको खण्डमा भने एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्ने छन् ।




