काठमाडौँ, साउन १ गते । मुलुकको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध नाइट्राभेट-५ ट्याब्लेटसहित सोही ठाउँका ३१ वर्षीय दीपक धामीलाई आज इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । टीकापुर नगरपालिका-१ बाट खैरोहेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ११० मिलीग्रामसहित २९ वर्षीय रविन चौधरी र जानकी गाउँपालिका-८ भोक्सीका १९ वर्षीय आयुष चौधरी पक्राउ परेका छन् ।
त्यसैगरी, रूपन्देहीको ओमसतिया गाउँपालिका-४ ठूलो बालापुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ९८० मिलीग्रामसहित भारत उत्तर प्रदेश माहाराजगन्ज थाना कुल्हुही ग्रामका २६ वर्षीय रामवचन जैसवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै धनुषा गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्र बजारबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब १४८ ग्रामसहित सोही नगरपालिका-१ गोलघर बस्ने २४ वर्षीय मोहमद तमिम राइनलाई इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित आज दिउँसो पक्राउ गरेको छ ।
त्यसैगरी, दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाटबाट अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थ छ ग्रामसहित व्याँस गाउँपालिका-३ सिनाका २३ वर्षीय सुरेशसिंह कुवँरलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ बागवानीबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ५९० ट्याब्लेटसहित रामनगर गाउँपालिका-५ का १६ वर्षीय किशोर समेत दुई जनालाई आज दिउँसो इलाका प्रहरी कार्यालय लालबन्दी समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम ११० मिलीग्रामसहित सोही नगरपालिका-६ का ४५ वर्षीय अवित राईलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




