काठमाडौँ, असार ३२ गते । कतार संस्करणको फिफा विश्वकप विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।

खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । उनले क्यास्टेन लियोनल मेसीले दिएको पासलाई सुन्दरढङ्ग गोल गर्दै खेललाई बराबरी बनाउन सफल भएका हुन् ।
खेलको निर्धारित ९० मिनेटकै अतिरिक्त समयको दोस्रो मिनेटमा क्याप्टेन मेसीको पासलाई हेडमार्फत् लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो । आगामी शनिबार साविक विजेता अर्जेन्टिना र स्पेनबीच विश्वकपको फाइनल खेल हुनेछ भने शुक्रबार फ्रान्स र इङल्यान्डबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । जारी विश्वकपका अब जम्मा दुई खेलमात्र बाँकी रहेका छन् ।




