काठमाडौँ, असार २७ गते । आउँदो साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाई अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि सरसफाई अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो।

भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरिएको छ । आज पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाई गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उहाँले उल्लेख गर्नुभयो । पहिलो दिनको पशुपति क्षेत्रको सफाईमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो ।

कोषले आजदेखि सुरु गरेको सफाई अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाई अभियान सञ्चालन गरिने छ ।