धनुषा, असार २० गते । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले सहकारी क्षेत्रलाई उत्पादन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरताको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । १०४औँ अन्तरराष्ट्रिय सहकारी दिवस तथा ३२औँ संयुक्त राष्ट्रसङ्घीय अन्तरराष्ट्रिय सहकारी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारी आन्दोलनलाई बचत तथा ऋणको सीमित दायराभन्दा माथि उठाएर कृषि, उद्योग, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

सभामुख यादवले सहकारीका मूल्यमान्यता, पारदर्शिता, सुशासन र सदस्यहरूको सक्रिय सहभागितामार्फत मात्रै सहकारीप्रति नागरिकको विश्वास अझ मजबुत बन्न सक्ने उल्लेख गर्नुभयो ।

उहाँले सहकारी संस्थाहरूले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन, कृषकको आय वृद्धि गर्न तथा सामाजिक र आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै तीनै तहका सरकारबीच समन्वय गरी सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाइनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जयकुमार यादवले मधेस प्रदेश सरकारले सहकारी क्षेत्रको संस्थागत विकास, क्षमता अभिवृद्धि तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सहकारी संस्थालाई आधुनिक कृषि, कृषि प्रशोधन, बजार व्यवस्थापन तथा उद्यम विकाससँग आबद्ध गर्दै आर्थिक समृद्धिको अभियानमा सहभागी गराइने समे१बताउनुभयो । सहकारी रजिस्ट्रार रुपेश साहले सहकारी संस्थाहरूलाई कानुन, वित्तीय अनुशासन र सुशासनको दायराभित्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जयकुमार सिंहले सहकारीले स्वरोजगार सिर्जना, सीप विकास तथा साना उद्यम प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । सहकारी र श्रम क्षेत्रबीचको समन्वयबाट युवालाई रोजगारी तथा उद्यमशीलतातर्फ आकर्षित गर्न सकिने उहाँको भनाइ थियो।

जिल्ला सहकारी संघका अध्यक्ष ध्रुबनारायण यादवले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहकारीको अन्तर्राष्ट्रिय अभियानले दिगो विकास, सामाजिक न्याय, समावेशी आर्थिक वृद्धि तथा सामुदायिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।