काठमाडौँ, असार २० गते। अमेरिकाको मियामी रङगशालामा भएको फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिनाले सङर्घषपूर्ण जित निकाल्दै जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध सङ्घर्षपूर्ण जित निकाल्दै तीन पटकको विश्वविजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।

पहिलो पटक विश्वकपमा प्रवेश गरेको केप भर्डेले खेलमा साविक विजेता अर्जेन्टिनालाई खेलमा पूर्णरुपमा दवावमा राखेता पनि केप भर्डे ३–२ गोलले पराजित हुन पुग्यो । केप भर्डे खेलमा पराजय भएता पनि फुटबलमा नयाँ इतिहास बनाउँदै सबैको मन जित्न सफल भएको छ ।

खेल सुरुभएको २९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, पूर्वाधको खेलको ५९ औं मिनेटमा केप भर्डेका लागि डेरोय डुआर्टेले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा फर्काएका थिए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले पुनःअग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गर्दै २-१ को स्थिति बनाए । तर मार्टिनेजले गोल गरेको ११ मिनेट बित्न नपाउँदै केड भर्डेलागि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै पुनः बराबरीमा फर्काएका थिए । तर, खेलको १११ औं मिनेटमा अर्जेन्टिनाको प्रहार डाइनी बोर्जेसको खुट्टामा छोएर गोल (आत्मघाती गोल) हुन पुग्यो । त्यही गोलका कारण केप भर्डे पराजित हुन पुग्यो ।

साविक विजेताविरुद्ध नवप्रवेशी केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्दै सबैको प्रसंशा बटुल्न सफल भएको छ । केप भर्डेलाई पराजित गरेर अन्तिम १६ मा साविक विजेता अर्जेन्टिनाले अब क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टको सामना गर्नेछ ।