काठमाडौँ, असार २० गते । अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार आज शनिबार भएको रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अन्तिम १६ स्थानमा प्रवेश गरेको हो ।
अमेरिकाको डलास स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमले बराबरी १-१ गोल गरेपछि अन्ततः खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । पेनाल्टीमा इजिप्टले अस्ट्रेलियालाई ४-२ गोलले हराउन सफल हुँदै विश्वकपको यात्रालाई निरन्तरता दिएको छ ।
खेलको सुरुवातमा इजिप्टले अग्रता लिएको थियो। १३ औँ मिनेटमा करिम हाफेजको क्रसमा इमाम आशुरले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को स्थितिमा पुर्याएका थिए। तर, दोस्रो हाफको ५५ औँ मिनेटमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि अस्ट्रेलियाले खेलमा फर्कने मौका पाएको थियो । तर उसले पाएको गोलको उपहारलाई जोगाउन सकेन ।
अतिरिक्त समयमा दुवै टोलीले केही सुन्दर अवसर सिर्जना गरे पनि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । विशेषगरी खेलको अन्तिम क्षणमा अस्ट्रेलियाका युवा गोलरक्षक प्याट्रिक बीचले इजिप्टको एक प्रहारलाई उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाएका थिए । निर्धारित र थप समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुग्यो र इजिप्टले पेनाल्टीलाई सदुपयोग गर्दै जारी विश्वकप यात्रालाई निरन्तरता दिंदै अन्तिम १६ मा पुगेको छ ।
इजिष्टले अब अर्जेन्टिना र केप भर्डेमध्ये जुन टिम विजेता बन्छ सोही टिमसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र केप भर्डेबीचको खेल नेपाली समयअनुसार आज शनिबार बिहान प्रतिस्पर्धा हुँदैछ ।




