काठमाडौँ, असार १९ गते । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार आज बिहान भएको खेलमा स्पेनले अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । यो जितसँगै स्पेनले ३–० गोलको अग्रतामै अस्ट्रियालाई पराजित गरेको हो ।

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा स्पेनका लागि मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल गर्दै स्पेन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनसँगको पराजयसँगै अस्ट्रिया जारी विश्वपक प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको ३६ औं मिनेटमा स्पेनका लागि मिकेल ओयार्जाबालले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोस्रो हाफपछि विपक्षी टिममाथि थप दवावदिंदै थप दुई गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा एलेक्स बाएनाको उत्कृष्ट क्रसलाई पेड्रो पोरोले हेडरमार्फत जाली चुमाउँदै स्पेनको अग्रता दोब्बर बनाएभने उनको आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि बन्न पुग्यो ।

आफुभन्दा बलियो र अनुभवि टिम स्पेनलाई अस्ट्रियाले चुनौती दिंदै अवसरहरु सिर्जना गरेता पनि सदुपयोग हुन नसक्दा गोल विहिन बन्न पुग्यो । खेलको अन्तिम समय अर्थात् खेल सकिनै लाग्दा स्पेनका लागि ओयार्जाबालले ८९ औँ मिनेटमा टिमको लागि अन्तिम तथा आफ्नो नाममा दोस्रो गर्न सफल भए ।

स्पेनका युवा स्टार लामिन यमलले यस खेलमा गोल गर्न नसकेता पनि उनले १० भन्दा बढी ड्रिबल र विपक्षीको पेनाल्टी बक्समा १३ पटक टच गरेर सन् १९६६ यताकै कान्छो खेलाडीको कीर्तिमान बनाउन भने सफल भए ।

यो जितसँगै स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्न सफल भएको छ। अब स्पेनले क्वार्टरफाइनलमा प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।