इङग्ल्याण्डका कप्तान ह्यारी केन

काठमाडौँ, असार १७ गते। जारी विश्वकप फुटबल अन्तर्गत आज राति अमेरिकामा भएको खेलमा इङग्ल्याण्ड पुनरागमन गर्दै बाजि मारेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा पछिपरेको इङग्ल्याण्डले खेलमा फर्किदै डीआर कङ्गो विरुद्ध जित निकालेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा इङग्ल्याण्डलाई जिताउन कप्तान ह्यारी केनले डीआर कङ्गो विरुद्ध २ गोल गरेपछि कङ्गो जितबाट विमुख बन्न पुग्यो । खेल सुरुभएको ७ औं मिनेटमा कङ्गोका लागिब्रायन चिपेङ्गाले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । खेलको ७२ औैँ मिनेटसम्म गोलविहिन अवस्थामा रहेको इङग्ल्याण्ड कतै पराजयको सिकार भोग्दै विश्वकपबाटै बाहिरिने हो कि भन्ने सन्नाटा छाइरहेको बेला इङग्ल्याण्डका क्याप्टेन ह्यारी केनले लगातार दुई गोल गर्दै इङग्ल्याण्ड टिमका लागि नायक बन्न सफल देखिए । लामो समयसम्म गोलविहिन अवस्थामा रहेको इङग्ल्याण्ड गोलको खडेरी तोड्न खेलमा आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको डीआर कङ्गो इङग्ल्याण्डसँग पराजित भएपछि जारी विश्वकप २०२६ यात्रामा पूर्णबिराम लागेको छ । जारी विश्वकपमा धेरै गोल गर्ने खेलाडीमा केनले आफ्नो नाम पनि दर्ता गराएका छन् । केनले जारी विश्वकपमा ५ गोल गरिसकेका छन् । उनीसँगै नर्वेका एर्लिङ हालान्ड पनि ५ गोल गरेका छन् भने गोलको शीर्ष स्थानमा फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीको नाममा समान ६ गोल रहेको छ । यद्यपि, अर्जेन्टिनाले नकआउट चरणको खेल खेल्न बाँकी नै छ । अब अर्जेन्टिनाले असार २० गते नयाँ प्रवेशी टिम केप भडेँसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा मेसीले गोल गरेमा अग्रस्थानमा मेसी एम्बाप्पेभन्दा एक कदम अघि हुनेछन् । जारी विश्वकपमा यी चार जना खेलाडीबीच गोल्डेन बुटको छिनोफानो आगामी दिनका खेलले निर्धारण गर्नेछ ।