फ्रान्स, असार १५ गते । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा एउटा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युननजिकै दुर्घटना भएको हो।
फ्रान्सेली टेलिभिजन बीएफएमटीभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन्। दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा समन्वय गर्न विभागीय सञ्चालन केन्द्र सक्रिय पारिएको जानकारी दिएका छन् ।
यसमा सबै सम्बन्धित उद्धार तथा आपतकालीन सेवाहरू परिचालन गरिएको जनाइएको छ । राष्ट्रिय प्रहरीले उद्धार तथा सुरक्षाकर्मीलाई सहज रूपमा काम गर्न सक्ने वातावरण बनाउन सर्वसाधारणलाई दुर्घटनास्थलमा नजान र त्यस क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सी




