तुलसीपुर (दाङ), असार २ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । वि सं २०११ मा सञ्चालनमा आएको हो तर यस विमानस्थल सुरुआतदेखि जत्रो थियो, त्योभन्दा ठूलो बनाउन सकिएको छैन । हाल विमानस्थलको लम्बाइ ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला विमानहरु बस्न सक्दैनन् । उन्नाइस सिट क्षमताको जहाज मात्रै बस्छन् । त्योभन्दा ठूला जहाज बस्न नसक्दा नियमित पनि हुन सकेको छैन भने भाडा पनि महँगो हुँदा प्रभावकारी रुपमा सेवा सञ्चालन हुन सकेको छैन ।
“हामीले हप्तामा चार दिन हवाई सेवा सञ्चालन गरिरहेका छौँ”, नेपाल एयरलाइन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले भन्नुभयो, “तर, नियमित छैन, कहिले महिनामा दुई दिन मात्रै पनि चल्छ ।” आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने भनिए पनि नियमित हुन सकेको छैन । कहिले यात्रु नभएर समस्या हुन्छ भने कहिले मौसमले पनि आउन सक्दैन । यसले गर्दा यहाँका यात्रुहरु भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ । अहिलेको धावनमार्ग ७५० मिटर मात्रै लम्बाई हुँदा ठूला जहाज बस्न सक्दैनन् । यसको धावनमार्ग विस्तारका लागि पटक–पटक आवाज उठे पनि पूरा हुन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा विमानस्थल स्तरवृद्धिको पहलका लागि समिति गठन गरी काम अगाडि बढाएको थियो । “स्तरवृद्धिका लागि भनेर पटक–पटक मन्त्रालय धाउँदा पनि खासै उपलब्धि हुन सकेन । हाम्रो पालिकाभित्र भएकाले हामीले पहल लिइरहेका छौंँ”, उपप्रमुख चौधरीले भन्नुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले यसअघि आफैँले केही यात्रु बराबरको भाडा तिरिदिनेसहमति गरेर विमान नियमित बनाएको थियो भने तुलसीपुर उद्योग वाणिज्य सङ्घले पनि पटक–पटक विमान नियमित बनाउनलाई पहल लिइरहेको थियो ।
सुरुआतमा दाङको टरिगाउँ विमानस्थलबाट जहाज रुकुमको सल्ले, चौरजहारी तथा बाँकेको नेपालगञ्ज समेत जान्थ्यो । सुरुमा टरिगाउँ विमानस्थलमा आएर यात्रु लैजानका लागि एक दिन नेपालगञ्ज हुँदै काठमाडौँ जाने गरेको नागरिक समाजका पूर्वअध्यक्ष टीकाराम रेग्मीले बताउनुभयो । उहाँका अनुसार अर्को दिन टरिगाउँबाट रुकुमको चौरजहारी गएर पुनः काठमाडौँ जान्थ्यो भने तेस्रो दिन रुकुमको सल्ले गएर काठमाडौँ जान्थ्यो । त्यतिबेला ‘डकोटा’ नामको विमान चल्थ्यो । यसरी नियमित तीन दिन हवाई सेवा सञ्चालनमा हुन्थ्यो ।
वक्तव्यमा आउथ्यो, किताबमा आउँदैनथ्यो
आर्थिक वर्ष २०६८/६९ को बजेट वक्तव्यदेखि दाङको टरिगाउँ विमानस्थलमा नियमितजसो बजेट वक्तव्यमा आउने गथ्र्यो तर बजेट भने नआउने समस्याले यस क्षेत्रका नागरिक आजित छन् । आव २०६८/६९ मा धावनमार्ग कालोपत्रे भएको थियो । “जतिबेला कर्मचारी सञ्चय कोषबाट ऋण लिएर देशका विभिन्न विमानस्थलहरुको कालोपत्रे गरिएको हो, त्यतिबेला हामीसँग पैसा थिएन”, तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले भन्नुभयो, “कर्मचारी सञ्चय कोषबाट ऋण लिएर भए पनि कालोपत्रे गरेका हौँ ।” त्योभन्दा अघि टरिगाउँ विमानस्थल घाँसेमैदान थियो ।
करिब रु साढे आठ करोड लागतमा अस्पाल्ट प्रविधिबाट विमानस्थल कालोपत्रे भएको हो । त्यसपछि २०७८ सालतिर ५८ लाख लागतमा टर्मिनल भवन बन्यो । त्यसबाहेक अन्य बजेट आएको छैन । आगामी आव २०८३/८४ का लागि पनि बजेट वक्तव्यमा समावेश भएकाले यसपटक बजेट बिनियोजन हुने दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बताउनुभयो । उहाँले पहिलो चरणमा २५ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरेर बहुवर्षीय बनाउने गरी तयारी गरेको बताउनुभयो । बहुवर्षीय बनाएमा यो विमानस्थल स्तरवृद्धि हुने उहाँको विश्वास छ ।
खासगरी टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट आवश्यक हो । हाल ७५० मिटर लम्बाइ भएको धावनमार्गलाई बढाएर १५ सय मिटरसम्म बनाउन सकेमा मात्रै ठूला जहाज बस्न सक्छन् तर हाल १९ सिट क्षमताका टुइनेटर जहाज मात्रै बस्ने र सानो हावा वा हुस्सु लागेपछि बस्न नसक्ने अवस्था रहेको छ । कहिले आउने र कहिले नआउने हुँदा यात्रुहरुको विश्वास समेत जित्न नसक्दा यस क्षेत्रका यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता छन् । २०११ सालदेखि २०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको विमानस्थल त्यस बीचमा नियमित हुन सकेको थिएन । तै पनि कहिले आउने र कहिले नआउने गर्दै २०५८ सालसम्म चल्यो ।
कालोपत्रे गरेपश्चात् पुनः २०७२ जेठ १४ गते गोमा एयरले उडान भर्न सुरु गरेको थियो तर त्यो एक वर्ष पुग्दानपुग्दै अवरुद्ध बन्न पुग्यो । हाल कहिलेकाहीँ नेपाल एयरलाइन्सले यस विमानस्थलमा उडान भरिरहेको छ । बादल वा हुस्सु लाग्यो वा सानो हावा लाग्यो भने पनि उडान हुँदैन । हाल हप्तामा चार दिन भनिए पनि महिनामा दुई दिनजसो मात्रै उडान हुने गरेको एयरलाइन्सका दाङ शाखा प्रमुख बलबहादुर सुनारले बताउनुभयो । “हप्तामा चार दिनको तालिका छ”, उहाँले भन्नुभयो, “तर, महिनाको दुई दिन पनि जहाज धौ–धौ आउँछ ।”





