सुनसरी, जेठ २५ गते । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका करिब ११:०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताउनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।

प्रहरीका अनुसार टिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ ।

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापर्वाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।