कैलाली, जेठ २३ गते । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित ‘स्थानीय सरकार— अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्नेमा जोड दिंदै प्रदेश प्रमुख मियाँले भन्नुभयो,“यो प्रदेश जलस्रोत, वन जङ्गल र सुन्दरताका हिसाबले देशभरमै अग्रस्थानमा छ । सबै मिलेर काम गरेमा सिङ्गो देशले नै यहाँबाट लाभ लिनसक्छ । त्यसैले प्रदेश र स्थानीय सरकारकाले अरु सबैलाई साथमा लिएर काम गर्नुपर्छ ।”

प्रदेश प्रमुख मियाँलेसंविधानले नै तीन तहका सरकारले गर्ने काम प्रष्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोहीअनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्थानीय, प्रदेश र सङ्घीय सरकारले गर्ने कामबारे प्रष्ट व्यवस्था छ । त्यसको मर्मलाई आत्त्मसात गर्दै जिम्मेवारी पूरा गरेमा सङ्घीयतालाई सफल पार्न सकिन्छ । त्यसैले विकासका लागि हातेमालो गरौँ”, प्रदेश प्रमुख मियाँले भन्नुभयो ।

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका ३० वटा स्थानीय तहका असल अभ्यासबारे जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तह र युनिसेफको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।