काठमाडौँ, जेठ १६ गते । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ । देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको जल तथा मौसम विज्ञान विभाग छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१ दशमलव २ मिलिमिटर वर्षा भएको छ । पर्साको ठोरीमा परेको यो धेरै भारी वर्षा नजिक हो ।
अन्य केही जिल्लामा मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि भारी वर्षा (५० मिमिभन्दा माथि) भएको छ । यस्तै बाँकेमा पनि ४८ मिलिमिटर (भारी नजिक) पानी परेको छ ।
पछिल्लो एक घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको छ । मौसमविद् सरोज पुडासैनीले तराईमा मङ्गलबारसम्मै बदली रहने हुनाले गर्मी घट्ने जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा भारीसम्मै वर्षा हुने पनि जानकारी दिनुभएको छ ।
यो समय प्रि–मनसुन भएकाले हावाहुरी चट्याङ पनि हुने भएकाले सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ । विभागमा प्राप्त अभिलेखअनुसार आज नेपालमा तापक्रम ३६ डिग्रीभन्दा तलै रहेको छ । विभागका अनुसार आज सबैभन्दा बढी धनगढीमा ३५ दशमलव ८ डिग्री तापक्रम रेकर्ड भएको छ ।
चन्द्रगढी विमानस्थलमा ३४ दशमलव ४, जनकपुरमा ३३, धरानमा ३३ दशमलव ७, विराटनगरमा ३३ दशमलव २, भैरहवामा ३४ र नेपालगञ्जमा ३३ दशमलव ९ डिग्री तापक्रम पुगेको छ । काठमाडौँमा अधिकतम तापक्रम २५ दशमलव ३ डिग्री रहेको छ । यसअघि यो वर्ष काठमाडौँमा ३० डिग्री पुगेको थियो भने नेपालगञ्जलगायत केही जिल्लामा ४१ डिग्रीमाथि तापक्रम पुगेको थियो ।





