लाओस, जेठ १६ गते । लाओसको एउटा गुफामा दश दिन देखि फसेका थप चार जनालाई उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन् । एक दिन अघि उनीहरुलाई सतहमा ल्याइएको जनाउँदै अझै दुई जना बेपत्ता रहेको जनाइएको छ । सतहको पानीलाई पम्प गरेर तिनीहरूलाई बाहिर निकाल्न सक्षम भएको उद्धारकर्ताहरुले बताएका छन् ।
थाइल्यान्ड रेसकिउ डाइभर फेसबुक पोष्टमा शनिबार करिब दिउँसो ३ः१० बजे उद्धार अधिकारीहरूले थप चार जना मानिसहरूलाई बाहिर निकाल्न सफल भएको जनाइएको छ । हाल सम्म पाँच जनालाई उद्धार गरिएको उल्लेख गर्दै दुई जना अझै बेपत्ता रहेको जनाइएको छ ।
गत मे –२० देखि मध्य जेसोम्बौन प्रान्तको दुर्गम पाहाडी क्षेत्रको गुफामा सुनको खोजी गर्दै गरेका सात जना मानिसहरू आकस्मिक बाढीका कारण फसेको सरकारी मिडियाहरुले रिपोर्ट गरेका छन् ।
गुफाको सतहबाट करिब ३०० मिटर टाढाको साँघुरो स्थानमा जम्मा भएका पाँच जना मानिसहरू बुधबार जीवित फेला पारी उद्धार गरिएको जनाइएको छ ।
उद्धारकर्ताहरूले शुक्रबार माटोले पुरिएका मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएका छन् ।
भारी वर्षाले आकस्मिक बाढी निम्त्याए पछि गुफाको निकास अवरुद्ध हुँदा उनीहरु गुफामै फसेको जनाइएको छ ।





