काठमाडौँ, जेठ ४ गते । नेपाली आरोही कामीरिता शेर्पाले फेरि एकपटक विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेख्नुभएको छ । उहाँले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोड्नुभएको छ ।

उहाँलाई व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अनुसार कामीरिताले मे १७, २०२६ बिहान १०ः१२ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । मौसम अनुकूल भएका कारण यसपटक आरोहण अपेक्षाकृत सहज भए पनि अत्यधिक भीड, उचाइको जोखिम र कठोर हिमाली वातावरणले चुनौती कायमै राखेको थियो ।

५५ वर्षीय कामीरिताको यो उपलब्धि केवल एउटा संख्या होइन, नेपाली शेर्पा समुदायको साहस, अनुभव र हिमालसँगको जीवन–संघर्षको प्रतीकका रूपमा हेरिएको छ । उहाँले सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसयता उहाँ लगभग हरेक वर्ष हिमाल चढ्दै आउनुभएको छ । सगरमाथाबाहेक उहाँले केटु, चो–ओयु, लोत्स्से मनास्लुलगायत आठ हजार मिटरभन्दा अग्ला धेरै हिमाल सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ ।

खुम्बु क्षेत्रको थामे गाउँमा जन्मनुभएका कामीरिता सामान्य परिवारमा हुर्किनुभएको थियो । उहाँका बुबाले पनि हिमाली भरिया तथा गाइडका रूपमा काम गर्नुभएको थियो । बाल्यकालदेखि नै हिमालसँग घुलमिल हुनु भएका उहाँले आर्थिक अभावका कारण उच्च शिक्षा पूरा गर्न सक्नुभएन । परिवार धान्नकै लागि उहाँ किशोर अवस्थामै हिमाल क्षेत्रमा काम गर्न थाल्नुभएको थियो।

सुरुआतमा उहाँले भरिया र किचन सहयोगीका रूपमा काम गर्नुभएको थियो । पछि विस्तारै आरोहण तालिम लिएर उच्च हिमाली गाइड बन्नुभएको थियो । उहाँले एक अन्तर्वार्तामा भन्नुभएको थियो– ‘हिमाल हाम्रो जीवन हो, यहीँ संघर्ष छ, यहीँ भविष्य पनि छ ।’

सगरमाथाको मृत्यु क्षेत्र भनेर चिनिने आठ हजार मिटरभन्दा माथिको क्षेत्रमा काम गर्नु संसारकै सबैभन्दा जोखिमपूर्ण पेसामध्ये एक मानिन्छ । अत्यधिक चिसो, अक्सिजनको कमी, हिमपहिरो र मौसमको आकस्मिक परिवर्तनबीच कामीरिताले दशकौंदेखि आरोहीहरूको नेतृत्व गर्दै आउनुभएको छ । कामीरिताले यसअघि सन् २०२५ मा ३१औं पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्नुभएको थियो । यस वर्ष फेरि शिखर चुम्दै उहाँले आफ्नै रेकर्डलाई थप उचाइमा पु¥याउनुभएको छ ।

यसअघि धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान पनि नेपाली शेर्पाकै नाममा थियो । आपा शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेर लामो समयसम्म विश्व कीर्तिमान राख्नुभएको थियो । पछि कामीरिताले उक्त कीर्तिमान तोड्दै निरन्तर नयाँ इतिहास बनाइरहनुभएको छ ।

पर्वतारोहण क्षेत्रमा कामीरिताको अनुभव, शान्त स्वभाव र जोखिम व्यवस्थापन क्षमताको अत्यन्त सम्मान गरिन्छ । विदेशी आरोहीहरूबीच पनि उहाँ भरपर्दो गाइडका रूपमा परिचित हुनुहुन्छ ।

कामीरिता भन्नुहुन्छ– ‘पछिल्ला तीन वर्षमा हिमाल चढ्न झनै गाह्रो भएको छ । तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर हिमालहरू चिरा पर्न थालेका छन् । बाटाहरू अनिश्चित बन्दै गएका छन् ।’ उहाँले सन् २०१४ को हिमपहिरोमा १६ शेर्पा गुमाएको घटना स्मरण गर्दै आफ्ना साथीहरू धेरै गुमाएको पनि बताउनुभएको थियो ।

जलवायु परिवर्तनले पर्वतारोहणलाई झनै जोखिमपूर्ण बनाएको उहाँ बताउनुहुन्छ । अझै दुःखद् कुरो के छ भने, सगरमाथाको चुचुरोमा पुग्ने शेर्पाहरूको ज्यान जोखिममा रहँदा पनि उनीहरूको जीवन बिमा रकम १५ लाख रुपियाँमात्र छ । कामीरिताले यो रकम बढाएर ५० लाख रुपियाँ पु¥याउनुपर्ने माग गर्नुभएको छ ।
नेपाल सरकारले पनि कामीरिताको उपलब्धिलाई राष्ट्रिय गौरवका रूपमा लिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार कामीरिताजस्ता शेर्पाहरूले विश्वभर नेपालको पहिचान उचो बनाएका छन् । प्रत्येक आरोहण केवल व्यक्तिगत उपलब्धिमात्र नभई नेपाली शेर्पाहरूको अनुभव, सहनशीलता र हिमालप्रतिको समर्पणको प्रमाण भएको पर्वतारोहण क्षेत्रका विज्ञहरू बताउँछन् ।

विश्वको छानो भनेर चिनिने सगरमाथामा ३२ पटक पाइला टेक्नु सामान्य सफलता होइन । यो दशकौंको कठोर मिहिनेत, जोखिमसँगको निरन्तर सामना र हिमालप्रतिको अथाह विश्वासको परिणाम हो । कामीरिता शेर्पाले फेरि एकपटक प्रमाणित गर्नुभएको छ । सगरमाथाको उचाइभन्दा ठूलो उहाँको साहस छ ।

२० पटकभन्दा बढी सगरमाथा चढ्ने शेर्पाहरू

कामीरिता शेर्पाः३२ पटक (नेपाल, सक्रिय)

पासाङ दावा शेर्पाः २९ पटक (नेपाल, सक्रिय)

दावा फिन्जोक शेर्पाः २७ पटक (नेपाल, सक्रिय)

मिङ्मा छिरी शेर्पाः २६ पटक (नेपाल)

ङिमा नुरु शेर्पाः २४ पटक (नेपाल)

आपा शेर्पाः २१ पटक (नेपाल, २०१० मा संन्यास)

लाक्पा शेर्पाः २१ पटक (नेपाल)

फुर्वा तासी शेर्पाः २१ पटक (नेपाल, २०१४ मा संन्यास) (नेपाल समाचारपत्रबाट)