बागलुङ, वैशाख २४ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ । अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाएपछि बिरामीको सङ्ख्यासमेत बढेको हो ।
अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित साना तथा ठूला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ । दुई वर्ष अगाडिसम्म सामान्य शल्यक्रियाका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी यहीँ आउने गरेका छन् ।
गत साउनदेखि हालसम्म यस अस्पतालमा एक हजार ४३ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । एकसय जनाको हाडजोर्नीसम्बन्धी मुख्य अपरेशन, १९ जना आङ खसेका महिलाको शल्यक्रिया, १८ जनाको पित्तथैलीको शल्यक्रिया गरिएको पौडेलले बताउनुभयो ।
एपेन्डिक्सका ३५ बिरामी, हर्नियाका ३५ र पाँच जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया गरेको उहाँले बताउनुभयो । पौडेलका अनुसार यस अवधिमा मिनिल्याप सम्बन्धी २५, भ्यासेक्टोमी दुई, १७९ जना गर्भवती, इक्टोपिकसम्बन्धी तीन जनाको शल्यक्रिया गरिएको छ ।
त्यस्तै, २०९ जनाको जनरल सर्जरी, हाडजोर्नीसम्बन्धी मध्यम तथा साना शल्यक्रिया १२० र ३९७ वटा विभिन्न रोगका जनरल सर्जरी गरेको उहाँले बताउनुभयो । शल्यक्रिया गरेकोमध्ये १०३ जना बिरामीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको पौडेलले बताउनुभयो ।
पछिल्लो समय अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गएपछि चाप बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा किरण तिवारीले बताउनुभयो ।





